यस्ता छन् एमाले स्थायी समितिका चार निर्णय
नेकपा (एमाले) स्थायी समितिको बैठकले वरिष्ठ नेता माधवकुमार नेपाल लगायतका नेताको कारबाही फिर्ता गर्नेसहित चार निर्णय गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथिको कारबाही फिर्ता लिएको छ। उनीहरूलाई गत फागुनमा ६ महीनाका लागि निलम्बन गरिएको थियो। पार्टी एकता रक्षाका लागि कारबाही फिर्ता लिइएको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जनाएका छन्।
त्यस्तै, स्थायी समिति बैठकले अहिलेको अवस्थामा आवश्यक निर्णय लिने अधिकार अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको छ। एमालेभित्र र राष्ट्रिय राजनीतिमा विकसित नयाँ परिस्थितिका सन्दर्भमा निर्णय गर्ने अधिकार ओलीलाई प्रत्यायोजन गरेको हो।
कोभिड–१९ का कारण उत्पन्न असहज स्थितिमा अक्सिजनको पर्याप्त, प्रभावकारी र नियमित आपूर्ति तथा खोप लगायत जीवनरक्षक औषधिहरूको प्रबन्ध गर्न सरकारलाई सुझाव दिएको छ। यसका लागि मित्रराष्ट्रहरूसँग कूटनीतिक पहल गर्न पनि सरकारलाई सुझाव दिएको छ।
यससँगै बुधबार निधन भएका एमाले नेता एवं बागमती प्रदेश सभा सदस्य पशुपति चौलागाईंको सम्मानमा तीन दिन पार्टीका झण्डा आधा झुकाउने निर्णय गरेको छ। चौलागाईंको बुधबार कोरोना संक्रमणबाट निधन भएको थियो।