नेपालको निर्यात एक खर्ब पुग्दै, भटमासको तेल मात्रै २९ अर्बको निर्यात
चालू आर्थिक वर्षमा नेपालले रू.१ खर्ब मूल्य बराबरको वस्तु निर्यात गर्ने पुरानो लक्ष्य पूरा हुने भएको छ। नेपाल राष्ट्र ब्यांकले सार्वजनिक गरेको तथ्यांक अनुसार, चैतसम्ममा नेपालले रू.९४ अर्ब ७७ करोड मूल्य बराबरको वस्तु निर्यात गरेको छ।
महामारीकै बीचमा पनि वैशाख, जेठ र असारमा हुने निर्यातले १ खर्ब बराबरको वस्तु निर्यातको लक्ष्य पूरा हुने सम्भावना छ। गत आर्थिक वर्ष २०७६/७७ मा नेपालले रू. ९७ अर्ब ७० करोडको वस्तु निर्यात गरेको थियो।
राष्ट्र ब्यांकका अनुसार, चैतसम्ममा नेपालको निर्यात अघिल्लो वर्षको तुलनामा २०.२ प्रतिशतले बढेको छ। सबैभन्दा धेरै नेपालले रू.२८ अर्ब ८१ करोड बराबरको भटमासको तेल निर्यात गरेको छ। यो कुल निर्यातको ३०.४ प्रतिशत हो। गत वर्षको तुलनामा भटमासको तेलको निर्यात २६८ प्रतिशतले बढेको छ।
नेपालमा भटमास धेरै फलेर तेल निर्यात सम्भव भएको भने होइन्। विदेशबाट भटमासको कच्चा तेल आयात गरी सामान्य प्रशोधनपश्चात् नेपालबाट निर्यात भएको हो।
तथ्यांक अनुसार, चैतसम्ममा नेपालले रू.३१ अर्ब ८१ करोडको भटमासको कच्चा तेल आयात गरेको थियो। आयात गरिएको कच्चा तेलको केही हिस्सा नेपालमा खपत गरी बाँकी निर्यात गरिएको हो।
गत वर्षसम्म नेपालले यसैगरी पाम आयल आयात गर्दै भारत पठाउने गरेको थियो। तर, भारतले पाम आयलको आयातमा रोक लगाएपछि व्यापारीहरू भटमासको तेल आयात गरी निर्यात गर्ने धन्दामा लागेका हुन्।
भटमासको तेलपछि नेपालले निर्यात गर्ने वस्तुको दोस्रो सूचीमा अलैंची छ। चैतसम्ममा नेपालले रू.५ अर्ब ६१ करोडको अलैंची निर्यात गरेको छ, जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ६७ प्रतिशत बढी हो। अलैंचीपछि ऊनी गलैंचा, धागो, जुटका सामान, जुस, तयारी कपडा, पस्मिना, पिना, जडीबुटी र आयुर्वेदिक औषधि नेपालबाट निर्यात हुने प्रमुख वस्तु हुन्।
नेपालले यो अवधिमा रू.११ खर्ब ११ अर्बको वस्तु आयात गरेको छ। यसमध्ये सबैभन्दा धेरै रू.१ खर्ब २० अर्ब हाराहारीमा पेट्रोलियम पदार्थ आयात गरिएको छ। आयातको दोस्रो सूचीमा यातायातका साधन तथा यसका पाटपूर्जा छन्। चैतसम्ममा रू.९५ अर्ब ५५ करोड मूल्यका सवारी साधन तथा पाटपूर्जा आयात गरियो।
त्यस्तै, ५६ अर्ब ११ करोडको औद्योगिक उपकरण, ५० अर्ब ७५ करोडको एमएस बिलेट (फलाम) र ३८ अर्ब ९५ करोडको धानचामल आयात भएको छ।