चीनले नेपाललाई अर्को चरणको स्वास्थ्य सामग्री सहयोग गर्ने, सामग्रीको सूची पेश गर्न प्रस्ताव
चीन सरकारले कोभिड–१९ को महामारीसँग जुध्न नेपाललाई आवश्यक स्वास्थ्य सामग्रीको दोस्रो चरणको सहयोग प्रस्ताव गरेको छ।
चीनले महामारीसँग जुध्न नेपाललाई कस्ता स्वास्थ्य सामग्री आवश्यक परेका हुन्, तिनको सूची दिन प्रस्ताव गरेको बेइजिङस्थित नेपाली राजदूतावासका डेपुटी चीफ अफ मिशन सुशील लम्सालले हिमालखबरलाई जानकारी दिए। “चीनले दोस्रो चरणका सहयोगका लागि के आवश्यक पर्ने हो, सूची दिन भनेको छ, परराष्ट्र मन्त्रालय मार्फत छिटै त्यस्तो सूची चीन सरकारलाई दिइनेछ,” लम्सालले भने।
२४ वैशाखमा बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वन्बिनले नेपालमा महामारी नियन्त्रणका लागि चीनले सक्दो सहयोग गर्ने बताएका थिए। उनले नेपाल चीनको छिमेकी र रणनीतिक साझेदार पनि रहेको र महामारीसँग जुध्नका लागि सहयोग जारी राख्ने बताएका थिए।
यसअघि, २७ अप्रिलमा चिनियाँ विदेशमन्त्री वाङ यीले नेपालसहित पाकिस्तान, अफगानिस्तान, श्रीलंका र बाङ्लादेशका परराष्ट्रमन्त्रीहरूसँग महामारीसँग जुध्ने सहयोगका विषयमा छलफल गर्दै नेपाललाई ५० लाख आरएमबी मूल्य बराबरको सहयोग घोषणा गरेको थिए। सो सहयोग अन्तर्गत चीनले नेपाल सरकारलाई तीन हजार पाँच सय थान अक्सिजन सिलिन्डर र १० वटा भेन्टिलेटर उपलब्ध गराउनेछ। यसको पहिलो खेपमा चार सय अक्सिजन सिलिन्डर र १० थान भेन्टिलेटर मंगलबार अपराह्न काठमाडौं आइपुगेको छ।
बाँकी अक्सिजन सिलिन्डर हुपे प्रान्तमा बनिरहेको र १८ मेमा उत्पादन भएर नेपालतर्फ पठाइने लम्सालले बताए। ती सिलिन्डरमध्ये आधा हवाई मार्गबाट र आधा सडक मार्गबाट नेपालतर्फ पठाउने योजना रहेको उनले बताए। नेपालमा महामारीको फैलँदो अवस्था हेरेर चीन सरकारले अर्को चरणको सहयोगका लागि प्रस्ताव माग गरेको हो।
लम्सालका अनुसार, चीन सरकारसँग २० लाख थान खोप खरीदका विषयमा पनि कुराकानी चलिरहेको छ। नेपालले २० लाख थान खोप जी–टू–जी अर्थात् सरकार–सरकारबीचको समझदारीमा खरीदका लागि प्रस्ताव गरे पनि चीनले त्यो परिमाणको खोप दिनका लागि जुलाई महीनासम्म लाग्ने बरु तत्काल पाँच लाख खोप उपलब्ध गराउन सकिने जवाफ दिएको थियो। चीन सरकारको मध्यस्थतामा नेपालले सिनोफर्मसँग खोप खरीदको पहल गरिरहेको छ।