बाल अस्पताललाई ग्लोबल आइएमई ब्यांकको एक करोड सहयोग
ग्लोबल आइएमई ब्यांक लिमिटेडले बाल अस्पतालका लागि काठमाडौं इन्स्टिच्यूट अफ चाइल्ड हेल्थलाई एक करोड सहयोग गरेको छ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत चाइल्ड हेल्थ इन्स्टिच्यूट मातहतको बाल अस्पतालको भवन निर्माणका लागि सहयोग गरेको ब्यांकले जनाएको छ। एक कार्यक्रमबीच ब्यांकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र काठमाडौं इन्स्टिच्यूट अफ चाइल्ड हेल्थका संस्थापक अध्यक्ष प्रा.डा. भगवान कोइरालाबीच आर्थिक सहयोग प्रदान गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ।
ग्लोबल आइएमई ब्यांकले आफ्नो स्थापनादेखि नै सामाजिक हितका कार्यलाई विशेष जोड दिएर अगाडि बढेको बताउँदै बैंकका प्रमुख कार्यकारी अधिकृत बज्राचार्यले समाजोपयोगी यस कार्यमा काठमाडौं इन्स्टिच्यूट अफ चाइल्ड हेल्थसँग सहकार्य गर्न पाउँदा अत्यन्तै खुशी लागेको बताए।
इन्स्टिच्यूटका अध्यक्ष प्रा.डा. कोइरालाले काठमाडौं इन्स्टिच्यूट अफ चाइल्ड हेल्थले बालबालिकामा हुने जटिल र गम्भीर रोगको उपचार सहज एवं सुलभ बनाउने उद्देश्यले काठमाडौंको बूढानीलकण्ठमा बहुविशिष्टीकृत अस्पतालको निर्माण गर्न गइरहेको बताए। साथै, यस इन्स्टिच्यूटले बाँकी अन्य प्रदेशहरूमा पनि सोही प्रकृतिको सेटलाइट अस्पतालहरू सञ्चालन गर्न गइरहेको उनले बताए।