उपत्यकामा १३ जेठसम्म निषेधाज्ञा, घरबाहिर विवाह गर्न नपाइने
कोरोनाभाइरसको संक्रमण कम नभएपछि काठमाडौं उपत्यकामा १३ जेठसम्म निषेधाज्ञा लागू गरिएको छ भने पहिलेभन्दा कडा गरिने भएको छ।
आज बसेको काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा दुई साता लम्ब्याउने निर्णय गरेकाे हो। कोरोना संक्रमण नियन्त्रण गर्न १३ जेठसम्म निषेधाज्ञा थप्ने निर्णय गरिएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताए।
यस पटक निषेधाज्ञामा कडाइ गर्ने निर्णय गरिएको छ। अब घरबाहिर विवाह गर्न नपाइने भएको छ।
त्यस्तै, विवाहमा १० जनाभन्दा बढी सहभागी हुन नपाउने निर्णय गरिएको भट्टराईले बताए। यसअघि १५ जनासम्म सहभागी गर्न पाइने र पार्टी प्यालेसमा विवाह गर्न छूट दिइएको थियो।
गएकाे १६ वैशाखदेखि काठमाडौं, भक्तपुर र ललितपुरमा निषेधाज्ञा जारी गरिएको थियो। दुई साता लामो निषेधाज्ञा ३० वैशाखमा सकिँदै छ। निषेधाज्ञा नसकिँदै दुई साता थप्ने निर्णय भएको हो।