गण्डकीमा यस्तो छ समीकरण
गण्डकी प्रदेशमा दलहरूलाई मुख्यमन्त्री दाबी गर्न प्रदेश प्रमुखले दिएको समयावधि बुधबार सकिँदै छ, तर मुख्यमन्त्री को बन्ने भन्ने यकिन भएको छैन।
पृथ्वी सुब्बा गुरुङले २६ वैशाखमा मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए। उनको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख सीताकुमारी पौडेलले तीन दिनभित्र सरकार गठन गर्न दलहरूलाई आह्वान गरेकी थिइन्।
उनले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि आह्वान गरेकी थिइन्। धारा १६८ मा प्रदेश मन्त्रिपरिषद् गठन सम्बन्धी व्यवस्था रहेको छ।
यसको उपधारा (१) प्रदेश सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ। अहिले प्रदेश सभामा कुनै पनि दलको बहुमत छैन।
त्यसैले प्रदेश प्रमुख पौडेलले उपधारा (२) बमोजिम सरकार गठनका लागि आह्वान गरेकी हुन्। उपधारा (२) मा भनिएको छ, “प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहमुत नरहेको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नेछ।”
यही व्यवस्था अनुसार, प्रदेश प्रमुखले मिलिजुली सरकारका लागि दलहरूलाई तीन दिनको समय दिएकी हुन्। आज गण्डकी प्रदेशमा प्रतिनिधित्व गर्ने दलहरूले मुख्यमन्त्रीका लागि दाबी पेश गर्नुपर्नेछ।
गण्डकी प्रदेश सभा ६० सदस्यीय छ। प्रदेश सभामा एमालेका २७, नेपाली कांग्रेसका १५, नेकपा (माओवादी केन्द्र)का १२, जनमोर्चाका तीन, जनता समाजवादी पार्टी (जसपा)का दुई र एक जना स्वतन्त्र सांसद छन्। सरकार गठनका लागि ३१ सांसद चाहिन्छन्।
अहिले कांग्रेस, माओवादी, जसपा र जनमोर्चाले सरकार गठन गर्ने प्रयास गरिरहेका छन्। चारै दलको गरेर ३२ सांसद हुन्छन्।
एमालेलाई पुनः सरकार गठन गर्न जनमोर्चाले समर्थन गरे पुग्छ। स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङ्गे)ले मुख्यमन्त्री गुरुङलाई साथ दिँदै आएका छन्।