बलात्कार मुद्दामा पत्रकार केदार कोइरालालाई पाँच वर्ष तीन महीना कैद
बलात्कार मुद्दामा दोषी ठहर भएका पत्रकार केदार कोइरालालाई पाँच वर्ष तीन महीना कैद सजाय तोकिएको छ।
सोमबार उच्च अदालत पाटनका न्यायाधीशहरू अच्युत विष्ट र नवराज थपलियाको इजलासले कोइरालालाई सजाय निर्धारण गरेको रजिस्ट्रार गजेन्द्रबहादुर सिंहले जानकारी दिए। गत १२ वैशाखमा यी दुवै न्यायाधीशको इजलासले कोइरालालाई उक्त मुद्दामा दोषी ठहर गरेको थियो।
तीन वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा पहिले कसूर ठहर गर्ने र त्यसको एक महीनाभित्र छुट्टै सुनुवाइद्वारा सजाय निर्धारण गर्ने नयाँ कानूनी व्यवस्था अनुसार सोमबार सजाय निर्धारणका लागि सुनुवाइ भएको हो।
जिल्ला अदालत काठमाडौंले कोइरालालाई सफाइ दिने, तर पीडित बालिकालाई १० लाख क्षतिपूर्ति भराउने फैसला गरेको थियो। त्यसविरुद्ध सरकारी वकील कार्यालयले उच्च अदालत पाटनमा पुनरावेदन दिएको थियो। उच्च अदालत पाटनले जिल्ला अदालतको फैसलालाई बदर गर्दै कोइरालालाई कैद सजाय हुने फैसला गरेको हो।
पत्रकार कोइरालामाथि १२ वर्षदेखि आफ्नै घरमा संरक्षण दिएर राखिएकी किशोरीलाई बलात्कार गरेको अभियोग लागेको थियो। ११ फागुन २०७३ को राति ११ बजे घरमा कोही नभएको मौकामा कोइरालाले ती किशोरीलाई बलात्कार गरेको अभियोग लगाइएको थियो। किशोरीले त्यस दिन मात्र नभएर आफूमाथि बारम्बार बलात्कार भएको बताएकी थिइन्।
काठमाडौंका जिल्ला न्यायाधीश तेजप्रसाद पौडेलले कोइरालालाई सफाइ दिँदै पीडितलाई १० लाख क्षतिपूर्ति दिलाउने फैसला गरेका थिए। १२ जेठ २०७४ मा पीडित किशोरीका दाजुले जाहेरी दिएपछि किशोरीको शारीरिक परीक्षण गर्दा गर्भ रहेको पाइएको थियो।
अभियुक्तलाई सफाइ दिने, तर पीडितलाई उनैबाट क्षतिपूर्ति भराउने फैसला आफैंमा त्रुटिपूर्ण थियो। त्यसैलाई उच्च सरकारी वकीलको कार्यालयले उच्च अदालत पाटनमा चुनौती दिएको थियो।
पीडितलाई १० लाख क्षतिपूर्ति भराउने जिल्ला अदालतको फैसलालाई भने उच्च अदालतले पनि कायम राखेको छ।