विश्वासको मतको पक्षमा पनि छैन, विपक्षमा पनि छैनः ठाकुर
जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले विश्वासको मतमा मतदान हुँदा आफ्नो पार्टी तटस्थ बस्ने संकेत गरेका छन्।
प्रतिनिधि सभाको सोमबार बसेको बैठकमा बोल्दै उनले भने, “म यो विश्वासको प्रस्तावको पक्षमा पनि छैन, विपक्षीमा पनि छैन।”
जसपाका दुई निलम्बितसहित ३४ सांसद छन्। ठाकुरले आइतबार प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई छुट्टाछुट्टै भेटेर आफूहरू तटस्थ बस्ने बताएका थिए।
जसपाकै अर्का अध्यक्ष उपेन्द्र यादव पक्षले भने विश्वासको मतको विपक्षमा मतदान गर्ने बताउँदै आएका छन्। जसपा पदाधिकारी बैठकले भने आफ्ना सांसदहरूलाई स्वविवेक प्रयोग गर्न दिने निर्णय गरेको छ।