आईसीयूमा भर्ना हुने संक्रमितको संख्यामा अत्यधिक वृद्धि
आइसीयूमा भर्ना हुने कोरोनाभाइरस संक्रमितको संख्या दिनदिनै बढ्दै गएको छ। वैशाख पहिलो साताको तुलनामा यो साता आईसीयूमा भर्ना भएका संक्रमितको संख्या ५५७ प्रतिशतले बढेको देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार, वैशाख पहिलो साता ७२७ जनाको आईसीयूमा उपचार भएको थियो। त्यो संख्या बढेर यो साता चार हजार ५२ पुगेको छ। शुक्रबार मात्रै ७२८ जना आईसीयूमा रहेको मन्त्रालयले जनाएको छ।
१ वैशाखमा आईसीयूमा उपचार भइरहेका संक्रमितको संख्या ८० थियो। त्यसको सात दिनपछि ८ वैशाखमा यो संख्या १८० पुगेको थियो। एक सातापछि १५ वैशाखमा ३१७ जनालाई आईसीयूमा राखेर उपचार गर्नुपरेको थियो।
पछिल्लो एक साता पनि आईसीयूमा राखेर उपचार गर्नुपर्ने संक्रमितको संख्या बढ्दै आएको छ। १८ वैशाखमा ४०१ जना, १९ वैशाखमा ४७७ जना, २० वैशाखमा ५७८ जना, २१ वैशाखमा ६१६ जना, २२ वैशाखमा ६०० जना, २३ वैशाखमा ६५२ जना र २४ वैशाखमा ७२८ जनालाई आईसीयूमा राख्नुपरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
अहिले देशभर सक्रिय संक्रमितको संख्या ७८ हजार ६२९ रहेको छ। जसमध्ये ७२ हजार ७६९ जना होम आइसोलेसनमा र पाँच हजार ८६० जना अस्पतालमा रहेका छन्।