भारतमा एकै दिन चार हजारभन्दा बढी संक्रमितको मृत्यु
कोरोनाभाइरसको संक्रमणबाट भारतमा एकै दिन चार हजारभन्दा बढी संक्रमितको मृत्यु भएको छ।
कोरोनाको दोस्रो लहर चलेयता पहिलो पटक संक्रमणबाट एकै दिन ज्यान गुमाउनेको संख्या चार हजार नाघेको हो। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा चार हजार १९४ जनाको मृत्यु भएको छ। यो अहिलेसम्मकै बढी हो।
योसँगै भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या दुई लाख ३८ हजार २६५ पुगेको छ। पछिल्लो दुई सातायता दैनिक तीन हजारको ज्यान गइरहेको भारतमा मृत्यु हुनेको संख्या बढ्दै गएको छ।
त्यस्तै, पछिल्लो २४ घण्टामा चार लाख एक हजार ३२६ जनामा कोरोना संक्रमण देखिएको छ। गत तीन दिनयता दैनिक चार लाखभन्दा बढी संक्रमित थपिँदै आएका छन्।
योसँगै भारतमा कोरोना संक्रमितको संख्या दुई करोड १८ लाख ८६ हजार ६११ पुगेको छ। त्यस्तै, सक्रिय संक्रमित पनि ३७ लाख ३१ हजार २६१ पुगेका छन्।
सक्रिय संक्रमित धेरै हुँदा अस्पतालमा भर्ना पाउन मुश्किल भइरहेको छ। कतिपय संक्रमितको उपचार नपाएर ज्यान गइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।