भारतमा फेरि बढे संक्रमित, एकै दिन ३७ सयको मृत्यु
भारतमा फेरि कोरोनाभाइरस संक्रमितको संख्या बढेको छ। संक्रमणबाट मृत्यु हुनेको संख्या भने लगातार बढिरहेको छ।
दुई दिन लगातार घटेको संक्रमितको संख्या आज फेरि बढेको हो। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा तीन लाख ८२ हजार ६९१ संक्रमित थपिएका छन्। योसँगै भारतमा संक्रमित हुनेको संख्या दुई करोड ६ लाख ५८ हजार २३४ पुगेको छ।
दुई दिनअघि चार लाख नाघेको नयाँ संक्रमितको संख्या मंगलबार तीन लाख ५५ हजार ८२८ मा झरेको थियो। त्यस्तै, सोमबार तीन लाख ७० हजार ५९ संक्रमित थपिएका थिए।
त्यस्तै, सक्रिय संक्रमितको संख्या ३४ लाख ९३ हजार ६३५ पुगेको छ। जसले गर्दा अस्पताल भरिएका छन् भने उपचार नपाएर मृत्यु हुनेको संख्या पनि बढ्दै गएको छ।
पछिल्लो २४ घण्टामा तीन हजार ७८७ जनाको मृत्यु भएको छ। योसँगै भारतमा मृत्यु हुनेको संख्या दुई लाख २६ हजार १६९ पुगेको छ।
मंगलबार तीन हजार ४३८ जनाको मृत्यु भएको थियो। त्यस्तै, सोमबार तीन हजार ४२२ जनाले ज्यान गुमाउनुपरेको थियो।
अहिले दैनिक थपिने संक्रमितको संख्या र मृत्यु हुनेको संख्या भारतमा सबैभन्दा बढी रहेको छ। भारतपछि ब्राजिलमा ६९ हजार ३७८ संक्रमित थपिएका छन्। अन्य देशमा त्योभन्दा पनि कम छन्।
त्यस्तै, मृत्यु हुनेको संख्या पनि अन्य देशको तुलनामा अत्यधिक छ। भारतपछि ब्राजिलमा तीन हजार २५ जनाले ज्यान गुमाएका छन्।