लुम्बिनी प्रदेशमा तेस्रो पटक मन्त्रिमण्डल विस्तार
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले तेस्रो पटक मन्त्रिमण्डल विस्तार गरेका छन्। मुख्यमन्त्री पोखरेलले मंगलबार तीन जना मन्त्री नियुक्त गरेर मन्त्रिमण्डललाई पूर्णता दिएका हुन्।
मुख्यमन्त्री कार्यालयका अनुसार, मंगलबार नियुक्त भएका मन्त्रीमा चेतनारायण आचार्य, भोजप्रसाद श्रेष्ठ र धर्मबहादुर लाल श्रीवास्तव छन्।
मुख्यमन्त्री पोखरेलले पहिलो पटक चार जना, दोस्रो पटक दुई जना र तेस्रो पटक तीन जनालाई मन्त्रीमा नियुक्त गरेका छन्।
आचार्यलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मा दिइएको छ भने श्रेष्ठलाई स्वास्थ्य तथा जनसंख्यामन्त्री बनाइएको छ। श्रीवास्तवले शिक्षा तथा सामाजिक विकास मन्त्रालयको जिम्मा पाएका छन्।
मुख्यमन्त्री पोखरेलले मन्त्रालयको जिम्मेवारी समेत हेरफेर गरेका छन्। यसअघि स्वास्थ्य तथा जनसंख्याको जिम्मेवारी पाएका हरि रिजाललाई ग्रामीण तथा शहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ। कल्पना पाण्डेलाई उद्योग वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ। यसअघि उनी शिक्षा तथा सामाजिक विकासमन्त्री थिइन्।