संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याउनु आपत्तिजनक : कांग्रेस
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सात वटा अध्यादेश जारी गर्ने सरकारको निर्णयको विरोध गरेको छ।
मन्त्रिपरिषद्को सिफारिशमा मंगलबार राष्ट्रपतिले सात वटा विधेयक जारी गरे लगत्तै कांग्रेस सभापति शेरबहादुर देउवाले विज्ञप्तिमार्फत विरोध जनाएका हुन्।
“संसद्को बजेट अधिवेशन बोलाउन ढिला भइरहेको अवस्थामा संसद्लाई छलेर अध्यादेशमार्फत शासन चलाउने वर्तमान सरकारको कार्यशैली घोर आपत्तिजनक छ,” सभापति देउवाले भनेका छन्, “संवैधानिक परिषद्सम्बन्धी अध्यादेश लगायत सात वटा अध्यादेश ल्याउने सरकारको निर्णयको नेपाली कांग्रेस घोर भर्त्सना गर्दछ।”
राष्ट्रपति कार्यालयले यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश र औषधि (तेस्रो संशोधन) अध्यादेश जारी गरेको छ।
यस्तै, संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश र तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश जारी भएका छन्।