काठमाडौं उपत्यकामा २९ वैशाखसम्म निषेधाज्ञा, खाद्यान्न पसल साँझ खोल्न नपाइने
काठमाडौं उपत्यकामा लगाइएको नोभल कोरोनाभाइरस (कोभिड-१९) लक्षित निषेधाज्ञा एक साता लम्बिएको छ।
काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको मंगलबार बसेको बैठकले २९ वैशाखसम्म निषेधाज्ञा गर्ने निर्णय गरेको हो। यसअघि २२ वैशाखसम्म निषेधाज्ञा लगाइएको थियो।
खाद्यान्न पसल पनि अब बिहान मात्रै खोल्न पाइने भएको छ। त्यसका लागि ७ देखि ९ बजेसम्मको समय तोकिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए। यसअघि साँझ पनि खोल्न दिइएको थियो।
त्यस्तै ब्यांक तथा वित्तीय संस्थालाई पनि कडाइ गरिएको छ। काठमाडौं उपत्यकामा २० प्रतिशत कार्यालय मात्रै खोल्न पाइने भएको छ। शाखामा काम गर्ने कर्मचारीबारे पनि स्थानीय प्रशासनलाई जानकारी दिनुपर्नेछ।