सांसदहरूलाई काठमाडौं आउन महन्थ ठाकुरको निर्देशन
जनता समाजवादी पार्टी (जसपा)को पहिलो वरीयताका अध्यक्ष महन्थ ठाकुरले आफू निकट सांसदहरूलाई काठमाडौं बोलाएका छन्।
समसामयिक राजनीतिक विषयमा छलफल गर्न आफूहरूलाई मंगलबार साँझसम्म काठमाडौंमा उपस्थित हुन भनेको जसपा केन्द्रीय कार्यकारिणी सदस्य वृषेशचन्द्र लालले जानकारी दिए। उनले भने, “अध्यक्षज्यूले मंगलबारसम्म केन्द्रीय कार्यकारिणी समितिका सदस्य र सांसदहरूलाई काठमाडौं बोलाउनुभएको छ।”
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनका लागि २७ वैशाखमा संसद् अधिवेशन बोलाए लगत्तै ठाकुरले विभिन्न जिल्लामा पुगेका नेता तथा सांसदहरूलाई काठमाडौं बोलाएका हुन्। ठाकुर पक्षले आफ्नो माग सम्बोधन भए ओली नेतृत्वको सरकारलाई समर्थन गर्नसक्ने बताउँदै आएकाे छ।
अर्का अध्यक्ष उपेन्द्र यादव पक्षले ओलीलाई कुनै पनि हालतमा समर्थन गर्न नसकिने बताउँदै आएकाे छ। यादव पक्षले लुम्बिनी प्रदेशका चार सांसदलाई पदमुक्त गर्ने एकतर्फी निर्णय गरेको ठाकुर पक्षको आरोप छ।
छापामार शैलीमा सांसदहरूलाई कारबाही गरेकाे लालकाे भनाइ छ। “पार्टीको बैठक विधि र प्रक्रिया अनुसार हुनुपर्दछ, छापामार शैलीमा हस्ताक्षर गराउनु संसदीय अभ्यास र बहुदलीय लोकतन्त्रमा अत्यन्तै खतरनाक हो,” जसपा नेता लाल भन्छन्, “यस्तो अभ्यास पार्टीको आन्तरिक जीवनका लागि मात्रै होइन, लोकतन्त्रका लागि पनि घातक हुन्छ।”