२३ वैशाख रातिबाट अन्तर्राष्ट्रिय उडान पनि बन्द
सरकारले २३ वैशाख राति १२ बजेबाट अन्तर्राष्ट्रिय हवाई उडान बन्द गर्ने निर्णय गरेको छ।
नोबल कोरोनाभाइरस (कोभिड-१९) महामारीका कारण वैशाख मसान्तसम्म अन्तर्राष्ट्रिय हवाई उडान बन्द गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधनमार्फत जानकारी दिएका छन्।
आन्तरिक उडान भने २० वैशाख राति १२ बजेदेखि नै बन्द भइसकेको छ।
स्थलमार्ग, चार्टर्ड वा उद्धार गरेर हवाई उडानबाट आउने हरेक व्यक्तिलाई परीक्षण गरिने भएकाे छ। सङ्क्रमित पाइएमा उनीहरूलाई उपचार गरेर मात्र समुदायमा पठाउने व्यवस्था मिलाइएको प्रधानमन्त्री ओलीले बताएका छन्।
सरकारले विदेशी नागरिकको स्थलमार्गबाट आवागमन बन्द गरेको छ। नेपाली नागरिक प्रवेशका लागि नेपाल–भारतबीच रहेका सीमानाकामध्ये १३ नाका मात्र सञ्चालनमा ल्याइएका छन्।
अन्तर्राष्ट्रिय उडान बन्द गर्न लागेको भए पनि नेपाल र भारतबीच भने सातामा दुई वटा उडान हुनेछन्। भारत र नेपालबीच एयर बबल प्रणाली अनुसार सातामा बढीमा दुई उडान हुने तय गरिएको छ।
यो अवधिमा चार्टर्ड तथा उद्धार उडान सञ्चालन हुने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। आवश्यकताका आधारमा अनुमति लिएर आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवैमा चार्टर्ड तथा उद्धार उडान हुने प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले बताए।