श्रमिकको न्यूनतम पारिश्रमिक १५ हजार
निजी क्षेत्रमा काम गर्ने श्रमिकको न्यूनतम पारिश्रमिक १५ हजार तोकिएको छ। यस सम्बन्धी राजपत्रमा सूचना प्रकाशन भएसँगै न्यूनतम पारिश्रमिक १५ हजार तय भएको हो।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले राजपत्रमा प्रकाशन गरेको सूचनामा वृद्धि भएको न्यूनतम पारिश्रमिक आगामी १ साउनदेखि लागू हुने जनाएको छ। अब आधारभूत पारिश्रमिक रू. ९ हजार ३८५ र महँगी भत्ता रू.५ हजार ५१५ गरी मासिक रू.१५ हजार हुनेछ । यसअघि श्रमिकको न्यूनतम पारिश्रमिक रू. १३ हजार ४५० थियो।
त्यस्तै, दैनिक आधारभूत पारिश्रमिक रू.३६१ र दैनिक महँगी भत्ता रू.२१६ गरी तय गरिएको छ। जस अनुसार, दैनिक न्यूनतम पारिश्रमिक रू.५७७ तथा प्रतिघण्टा आधारभूत पारिश्रमिक रू.४८ र महँगी भत्ता रू.२९ गरी प्रतिघण्टा रू.७७ तोकिएको छ। यो चिया बगानमा काम गर्ने श्रमिकबाहेकको हो।
यो पारिश्रमिकको अतिरिक्त श्रम ऐन, २०७४, योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ र प्रचलित कानून बमोजिम श्रमिकले पाउने सञ्चयकोष र उपदान लगायत सुविधा रोजगारदाताले प्रदान गर्नुपर्ने मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले बताए।
सरकारले तोकेको न्यूनतम पारिश्रमिकभन्दा कम पारिश्रमिक लिनेदिने गरी कुनै रोजगार सम्झौता गर्न नपाइने पनि मन्त्रालयले जनाएको छ।
सरकारले एकपक्षीय रूपमा न्यूनतम पारिश्रमिक तोकेको जनाउँदै श्रमिक र रोजगारदाता दुवैले असन्तुष्टि जनाएका छन्। श्रम ऐन, २०७४ मा प्रत्येक दुई–दुई वर्षमा न्यूनतम पारिश्रमिक पुनरवलोकन हुने प्रावधान छ।