नेमकिपा र क्रान्तिकारी माओवादीद्वारा संशोधन विधेयकको विरोध
नेपाल मजदुर किसान पार्टीले संसद्मा दर्ता भएको संविधान संशोधन विधेयकको विरोध गर्दै प्रस्तावको विपक्षमा उभिन सबै राजनीतिक दललाई आह्वान गरेको छ ।
नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेको अध्यक्षतामा आज बसेको केन्द्रीय सचिवालयको बैठकले संशोधन प्रस्तावमा उल्लेखित भाषा, प्रदेशको सीमाङ्कनमा हेरफेर, नागरिकता र जनसङ्ख्याको आधारमा राष्ट्रिय सभामा प्रतिनिधित्व जस्ता कुनै पनि विषय नेपाल र नेपाली जनताको हितमा नभएको ठहर गरेको पार्टीका सचिव सुनिल प्रजापतिद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ – "प्रधानमन्त्री पुष्पकमल दाहालले भारतको निर्देशनमा सरकारबाट संविधान संशोधन प्रस्ताव दर्ता गराएको छ ।"
संविधान कार्यानवयनका लागि स्थानीय, प्रदेश र प्रतिनिधि सभाको निर्वाचन गर्नुपर्ने संविधान संशोधन प्रस्ताव दर्ता गर्नु देशमा निर्वाचन हुन नदिने षड्यन्त्र भएको ठहर बैठकले गरेको विज्ञप्तिमा उल्लेख छ ।
नेपालको सार्वभौमिकता, स्वतन्त्रता र स्वाधिनतामा गम्भीर असर पर्ने गरी सरकारले दर्ता गरेको संविधान संशोधन प्रस्तावको बैटकले भत्र्सनासमेत गरेको विज्ञप्तिमा भनिएको छ ।
क्रान्तिकारी माओवादीको पनि आपत्ति
संविधान संशोधन विधेयकमा राखिएको सीमाङ्कनलगायत विषयप्रति मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले आपत्ति प्रकट गरेको छ ।
पार्टी अध्यक्ष वैद्यले आज विज्ञप्ति जारी गर्दै सीमाङ्कनलगायत विषयको समाधान तानाशाही तरिकाले नभई अग्रगामी तथा परिवर्तनशील राजनीतिक शक्ति र सम्बन्धित जिल्ला तथा प्रदेशका नागरिकको राय सुझाव र सहमति अनुसार गर्नुपर्ने बताएका छन् ।
सीमाङ्कनलगायत विषयको विरोधमा नागरिकले राखेका उचित माग तथा उनीहरुद्वारा आयोजित प्रदर्शन र हडतालका कार्यक्रमप्रति आफ्नो पार्टीको समर्थन रहेको विज्ञप्तिमा उल्लेख छ ।
संविधान नागरिकको इच्छा र भावना विपरीत भएकाले त्यसको विकल्पमा सङ्घीय जनगणतान्त्रिक संविधान बनाउनुपर्ने सो पार्टीले माग गरेको छ ।
रासस