गण्डकीमा पौडेल र सुदूरपश्चिममा यादव प्रदेश प्रमुख नियुक्त
राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी प्रदेशमा सीता पौडेल र सुदूरपश्चिममा गंगानारायण यादवलाई प्रदेश प्रमुखमा नियुक्त गरेकी छिन्।
राष्ट्रपति कार्यालय स्रोतका अनुसार, उनीहरू दुवैको शपथ केही समयपछि हुँदै छ। पौडेल प्रधानमन्त्रीको जनसम्पर्क अधिकृत थिइन्। उनी अखिल नेपाल महिलासंघकी अध्यक्ष पनि हुन्। त्यस्तै, राजविराजका यादव पूर्वउपसभामुख हुन्। तत्तकालीन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालबाट उपसभामुख भएका यादव पछि नेकपा (एमाले) मा प्रवेश गरेका थिए।
सोमबार नै सरकारको सिफारिशमा राष्ट्रपति भण्डारीले गण्डकी प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिलाकुमारी पन्तलाई पदमुक्त गरेकी थिइन्। उनीहरू पदमुक्त भएपछि रिक्त स्थानमा भण्डारीले नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी हुन्। शेरचन र पन्त दुवै जना नेकपा माओवादीमा आवद्ध छन्।
सरकारले २०७६ काे कात्तिकमा सात वटै प्रदेशका प्रमुख परिवर्तन गर्दा प्रदेश २, गण्डकी र सुदूरपश्चिम प्रदेश माओवादीका भागमा परेका थिए। यसअघि सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले प्रदेश २ का प्रमुख तिलक परियारलाई पदमुक्त गरी राजेश झालाई नियुक्त गरेकी थिइन्।