लुम्बिनीमा एमाले सांसद दृगनारायण पाण्डेको स्थान रिक्त
लुम्बिनी प्रदेश सभामा नेकपा (एमाले) सांसद दृगनारायण पाण्डेको स्थान रिक्त भएको छ।
सोमबार प्रदेश सभा सचिवालयले सूचना प्रकाशित गरी पाण्डेको स्थान रिक्त रहेको जनाएको छ। प्रदेश सभाका सचिव दुर्लभकुमार पुन मगरले सूचना जारी गरी उनको पद रिक्त भएको उल्लेख गरेका छन्।
प्रदेश सभाका सचिव दुर्लभकुमार पुन मगरले जारी गरेको सूचनामा भनिएको छ, “माननीय सदस्य दृगनारायण पाण्डेले हालको राजनीतिक परिस्थित दर्शाई मिति २०७८ वैशाख १९ गते आइतबारदेखि लागू हुने गरी प्रदेश सभा सदस्य पदबाट मानीय सभामुख समक्ष लिखित राजीनामा पेश गर्नु भई नेपालको संविधानको धारा १८० (क) बमोजिम स्थान रिक्त भएकाले प्रदेश सभाको बैठक चालु नरहेको अवस्थामा प्रदेश सभा नियमावली २०७४ नियम १८५ को उपनियम २ बमोजिम जानकारीका लागि आदेशानुसार यो सूचनापत्र प्रकाशित गरिएको छ।”
मुख्यमन्त्रीमा पुनः शंकर पोखरेल नियुक्त हुने भएपछि उनले आइतबार राजीनामा दिएका थिए। उनी कपिलवस्तु २ (क)बाट निर्वाचित भएका थिए।