जनमोर्चा सांसदको अवस्था ‘अज्ञात’ बन्दा गण्डकी प्रदेश सभा स्थगित
राष्ट्रिय जनमोर्चाका एक जना सांसदको अवस्था ‘अज्ञात’ रहेको जनाउँदै गण्डकी प्रदेश सभाको बैठक स्थगित गरिएको छ।
गण्डकीका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले दर्ता गराएको अविश्वास प्रस्तावमाथि मतदान हुन लाग्दा जनमोर्चाका सांसद खिमविक्रम शाही एकाएक अनुपस्थित थिए। उनको अवस्था अज्ञात रहेको जनाउँदै जनमोर्चा सचेतक पियारी थापाले प्रदेश सभा सचिवालयमा निवेदन दिएकी थिइन्।
सचेतक थापाले दिएको निवेदनमा सांसद शाहीको अवस्था अज्ञात रहेकाले खोजबिन गरिदिन माग गरिएको छ। निवेदनमा भनिएको छ, “हाम्रो पार्टी प्रदेश सभा सदस्य श्री खिमविक्रम शाहीको अवस्था अज्ञात रहेकाले सदनमा उपस्थित हुन नसक्नुभएकाले उहाँको अवस्था सार्वजनिक गर्न, निजको जीवनरक्षा गर्न र निज सार्वजनिक नभएसम्म सदनको कारबाही नचलाइयोस्।”
अविश्वास प्रस्तावमा जनमोर्चाले समर्थन जनाएको अवस्थामा मतदान हुने बेला सांसदको अवस्था ‘अज्ञात’ बनेकाले सचेतक थापाले दिएको निवेदनका आधारमा अर्को सूचना जारी नभएसम्मका लागि प्रदेश सभा बैठक स्थगित गरिएको जनाएको छ।
प्रदेश सभा सचिव हरिराज पोखरेलले जारी गरेको सूचनामा भनिएको छ, “यस विषम परिस्थितिमा निवेदनमाथि सम्बोधन नगरी सदन सञ्चालन गर्न उपयुक्त नभएकाले अर्को सूचना नभएसम्मका लागि गण्डकी प्रदेश सभाको आजको बैठक स्थगित भएको व्यहोरा सूचित गरिन्छ।”
गण्डकी प्रदेश सभामा ६० सदस्य छन्। जसमध्ये नेकपा (एमाले)का २७, नेपाली कांग्रेसका १५, माओवादीका सभामुखसहित १२, जनमोर्चाका तीन, जसपाका दुई र एक जना स्वतन्त्र सांसद छन्।
मुख्यमन्त्री गुरुङलाई हटाउन अविश्वास प्रस्तावको पक्षमा ३१ जनाले मतदान गर्नुपर्छ। त्यसका लागि कांग्रेसका १५, माओवादीका ११ (सभामुखबाहेक), जनमोर्चाका तीन र जसपाका दुई सांसद रहेका थिए। जनमोर्चाका एक सांसद अनुपस्थित हुँदा ३० जना मात्रै पुग्छन्।
अविश्वास प्रस्तावमाथि आवश्यक संख्या पुग्न नदिन मुख्यमन्त्रीका मान्छेले नै सांसद शाहीको अवस्था ‘अज्ञात’ बनाएको जनमोर्चाले आरोप लगाएको छ।