विदेश जान कोरोना परीक्षण गर्ने मापदण्ड फेरबदल
सरकारले विदेश जानका लागि कोरोनाभाइरसको परीक्षण गर्नुपर्ने मापदण्ड फेरबदल गरेको छ।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना प्रकाशित गरी सरकारी तथा मापदण्ड बमोजिमका अस्पतालमा आधारित ‘ए’ वर्गको प्रयोगशालामा मात्रै कोरोना परीक्षण गर्नुपर्ने जनाएको छ। यसअघि जुनसुकै प्रयोगशालामा परीक्षण गर्दा पनि हुने व्यवस्था गरिएको थियो।
त्यस्तै, परीक्षण रिपोर्टमा पनि थप व्यवस्था गर्नुपर्ने मापदण्ड तोकेको छ। परीक्षण रिपोर्टमा सम्बन्धित व्यक्तिको फोटो र बारकोड वा आईएमयू अनलाइन प्रणालीबाट नाकामै हेर्न मिल्ने गरी उपलब्ध गराएको रिपोर्ट मात्रै मान्य हुने जनाएको छ।