निषेधाज्ञाका बेला पनि उद्योग र ठूला परियोजना सञ्चालन गर्न दिन व्यवसायीको माग
निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघले निषेधाज्ञाको बेला पनि उद्योग र ठूला परियोजनालाई निर्बाध सञ्चालन र निर्माण गर्न दिन माग गरेको छ।
मंगलबार विज्ञप्ति जारी गर्दै महासंघले निषेधाज्ञाका बीच पनि आर्थिक महत्त्व बोकेका ठूला परियोजना र उद्योग कलकारखानाहरूको निरन्तर सञ्चालनको सुनिश्चितता आवश्यक परेको बताएको हो। काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा निषेधाज्ञा लागू गर्ने तयारी गरिएपछि महासंघले निषेधाज्ञामा पनि उद्योग सञ्चालन गर्न दिन माग गरेको हो।
स्वास्थ्य सुरक्षाका सबै उपाय अवलम्बन गरी निषेधाज्ञाको समयमा पनि रोजगारी नगुम्ने र आर्थिक गतिविधि सञ्चालन सहज बनाउने वातावरणका लागि सरकार र निजी क्षेत्रको थप सहकार्य आवश्यक रहेको महासंघको धारणा छ।
उद्योगबाट उत्पादित सामानहरूको सहज आपूर्ति, ढुवानी, बिक्री-वितरण, कच्चा पदार्थको आयातमा सहजतासहित उद्योग व्यवसाय सञ्चालनका लागि आवश्यक कामदार तथा कर्मचारीहरूको आवतजावत सहज बनाउन पनि महासंघले सरकारसँग अनुरोध गरेको छ।
उच्च स्वास्थ्य सतर्कताका साथ स्वास्थ्य सुरक्षाका सबै उपाय अवलम्बन गरी निषेधाज्ञाको समयमा पनि रोजगारी नगुम्ने र आर्थिक गतिविधि सञ्चालन सहज बनाउने वातावरणका लागि सरकार र निजी क्षेत्रको थप सहकार्य आवश्यक रहेको महासंघको धारणा छ। महासंघले रोजगारी गुमेका सर्वसाधारणलाई प्रधानमन्त्री रोजगार कार्यक्रमजस्ता योजनामा संलग्न गराई कामसँगै राहत उपलब्ध गराउन माग गरेको छ।
यस्तै, लघु घरेलु एवं साना तथा मझौला उद्योगका लागि गत वर्ष घोषणा भएको राहतको निरन्तरतासँगै नयाँ लहरबाट सिर्जना हुने समस्या समाधानका लागि थप राहतका कार्यक्रम घोषणाका लागि माग गरिएको छ।
महासंघले संकटको बेलामा अनावश्यक सञ्चिति र मूल्यवृद्धि नगरी आमसर्वसाधारणलाई सेवा प्रदान गर्न पनि सम्पूर्ण व्यवसायीलाई आग्रह गरेको छ।
महासंघले जनताको स्वास्थ्य सुरक्षाका लागि सरकारले चालेका सबै प्रयासमा यसअघि जस्तै सहयोग गर्ने पनि जनाएको छ।