दशकपछि घरेलु मैदानमा नेपाललाई उपाधि
घरेलु मैदानमा नेपालले पहिलो टी–२० अन्तर्राष्ट्रिय शृंखलाको उपाधि जितेको छ। फाइनलमा नेदरल्यान्ड्सलाई पराजित गर्दै नेपालले त्रिदेशीय शृंखला जितेको हो।
शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले नेदरल्यान्ड्समाथि फराकिलो जित हासिल गरेको छ। नेपालले नेदरल्यान्ड्सलाई १४२ रनले पराजित गरेको हो।
नेपालले दिएको २३९ रनको लक्ष्य पछ्याउने क्रममा नेदरल्यान्ड्स ९६ रनमै समेटियो। नेपालका लागि करण केसीले तीन, सन्दीप लामिछानेले दुई, कमलसिंह ऐरीले दुई र अविनाश बाेहराले एक विकेट लिए।
नेदरल्यान्ड्सका लागि सेबास्टियन ब्राटले २६, म्याक्स ओ-डुडले २० र पिटर सिलरले १३ रन बनाए। अन्य खेलाडीले दोहोरो अंक पनि बनाउन सकेनन्।
यसअघि टस हारेर ब्याटिङको निम्ता पाएको नेपालले तीन विकेटको क्षतिमा कीर्तिमानी २३८ रन बनाएको थियो। यो नेपालको टी–२० अन्तर्राष्ट्रिय प्रतियोगितामा अहिलेसम्मकै उच्च स्कोर हो।
नेपालका लागि कुशल भुर्तेलले ७७, कुशल मल्लले ५०, दीपेन्द्रसिंह ऐरीले ४८, ज्ञानेन्द्र मल्लले ३३ र आसिफ सेखले १६ रन बनाएका थिए। कुशल भुर्तेलले यो शृंखलामा चौथो अर्धशतक बनाए भने कुशल मल्लले डेब्यू खेलमै अर्धशतक प्रहार गरे।
नेदरल्यान्ड्सका लागि फिलिप बोइसभेनले दुई र बसास्टियन ब्राटले एक विकेट लिएका थिए।
फाइनल खेलमा करण केसी 'प्लेयर अफ द म्याच' भए। त्यस्तै, कुशल भुर्तेल 'प्लेयर अफ द सिरिज' भए।
त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाल, नेदरल्यान्ड्स र मलेसिया सहभागी थिए। मलेसिया समूह चरणबाट बाहिरिएको थियो भने र नेपाल र नेदरल्यान्ड्स फाइनल पुगेका थिए।