भारतमा कोरोनाको डरलाग्दो अवस्था, एकै दिन ३ लाख ४५ हजारमा संक्रमण
भारतमा कोरोनाभाइरस संक्रमणले डरलाग्दो अवस्था सिर्जना गरेको छ। दैनिक मृत्यु हुनेको संख्या बढ्दै गएको छ भने संक्रमण नियन्त्रणबाहिर पुगेको छ।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार, पछिल्लो २४ घन्टामा ३ लाख ४५ हजार १४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै सक्रिय संक्रमितको संख्या २५ लाख ५० हजार ७८८ पुगेको छ।
गत ३ दिनमा १० लाख संक्रमित थपिएका छन्। यो संसारकै सबैभन्दा बढी हो।
भारतमा चार महीनाअघि दैनिक २० हजारको हाराहारीमा संक्रमित थपिएका थिए। अहिले भने यो संख्या बढेर ३ लाख ४५ हजार नाघेको छ।
संक्रमण तीव्र रूपमा फैलिन थालेपछि उपचारकाे अभाव भएको छ। अस्पतालहरू संक्रमितले भरिएका छन्। गम्भीर बिरामीले उपचार पाउन नसक्दा मृत्यु हुने क्रम बढेको छ।
जसले गर्दा हरेक दिन कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ। पछिल्लो २४ घन्टामा २ हजार ६२१ जनाको मृत्यु भएको छ।
योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ८९ हजार ५६९ पुगेको छ। भारतमा ४ दिनदेखि लगातार २ हजारभन्दा बढीको मृत्यु भइरहेको छ।
कोरोनाबाट सबैभन्दा बढी प्रभावित राज्यमा महाराष्ट्र, उत्तर प्रदेश, केरला, कर्नाटक, पश्चिम बंगाल, राजस्थान, छत्तिसगढ, गुजरात, बिहार र उत्तराखण्ड छन्। यसमध्ये ४ राज्य उत्तर प्रदेश, पश्चिम बंगाल, बिहार र उत्तराखण्ड नेपालसँग जोडिएका छन्।