निजी घरको पुनर्निर्माण आगामी असारभित्र सकिने
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी घरको पुनर्निर्माण चालू आर्थिक वर्षभित्र सकिने जनाएको छ। २०७२ सालको भूकम्पपछिको पुनर्निर्माणको प्रगतिका विषयमा जानकारी दिन शुक्रबार पत्रकार सम्मेलन गर्दै प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीले आउँदो असारसम्ममा निजी आवास पुनर्निर्माणको मूलभूत काम सम्पन्न हुने बताए।
ज्ञवालीले अहिलेसम्म निजी आवास निर्माण कार्य ९३ प्रतिशत सकिएको बताए। उनका अनुसार, अनुदान सम्झौता गरेका ८ लाख ११ हजार ७५४ लाभग्राहीमध्ये ७ लाख ५३ हजार १०४ ले घर पुनर्निर्माण शुरू गरेका छन्। अनुदान सम्झौता गरेकामध्ये ९९.८६ प्रतिशतले पहिलो किस्ता लिएको र तेस्रो किस्ता लिनेको संख्या ७८.६६ प्रतिशत रहेको सीईओ ज्ञवालीको दाबी छ।
४९३ सम्पदाको पुनर्निर्माण सम्पन्न, ८३ प्रतिशत विद्यालय उभिए
भूकम्पले क्षतिग्रस्त ९२० सम्पदामध्ये ४९३ को पुनर्निर्माण सम्पन्न भएको छ। पुनर्निर्माण सम्पन्न भएको धरहराको ११ वैशाखमा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ।
त्यसैगरी, भूकम्पबाट क्षति भएका ७ हजार ५५३ विद्यालयमध्ये ८३ प्रतिशतको पुनर्निर्माण सम्पन्न भएको र बाँकीको पुनर्निर्माण यसै आर्थिक वर्षभित्र सक्ने ज्ञवालीले बताए। पुनर्निर्माण गर्नुपर्ने १ हजार १९७ स्वास्थ्य संस्थामध्ये ६९८ को पुनर्निर्माण सकिएको र २९६ निर्माणाधीन छन्।
ज्ञवालीले पुनर्निर्माणका लागि दाता सम्मेलनमा दाता राष्ट्र र संस्थाहरूले प्रतिबद्धता जनाएको रू.४ खर्ब १० अर्बमध्ये ६७ अर्ब राहत र उद्धारमा खर्च भएको तथा भारतको एक्जिम ब्यांकतर्फको रू.४९ अर्ब स्रोतान्तरका रूपमा नेपाल सरकारलाई गएको हुँदा वास्तविक प्रतिबद्धता रकम रू.२ खर्ब ९४ अर्ब मात्र भएको बताए। यसमध्ये रू.२ खर्ब ४३ अर्बको सम्झौता भएको बताए। यस्तै, पुनर्निर्माणमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थासँग रू.९० अर्ब परिचालनका लागि सम्झौता भई रू.७२ अर्ब खर्च भएको छ।
पुनर्निर्माणका लागि नेपाल सरकारबाट चैतसम्ममा रू.३ खर्ब ५७ अर्ब खर्च भएको ज्ञवालीले जानकारी दिए।