यस्तो छ पछिल्ला दुई दिनमा ओली र नेपालबीच भएको संवाद
पार्टी विभाजनको सँघारमा पुगेका बेला नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच नक्सालस्थित होटल मेरियटमा बुधबार र बिहीबार दुई पटक वार्ता भयो।
दुई नेताबीचको संवादको अंश नेता नेपालले जनकपुरमा सार्वजनिक गरेका छन्। संवादको संक्षिप्त अंश पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालकै शब्दमाः
ओलीः भेटौं।
नेपालः हुन्छ।
ओलीः बालुवाटार आउनुस्।
नेपालः आउँदिनँ।
ओलीः त्यसो भए बालकोटस्थित निजी निवासमा आउनुस्।
नेपालः त्यहाँ आउँदिनँ, तुलसीलाल स्मृति प्रतिष्ठानमा बसौं।
ओलीः त्यहाँ त नगरौं।
नेपालः होटल एभरेष्टमा आउनुस्।
ओलीः एभरेष्टमा होइन, होटल मेरियटमा बसौं।
नेपालः ठीक छ, हुन्छ।
ओलीः तपाईं मकहाँ आउन हुँदैन र?
नेपालः तपाईं परराष्ट्रमन्त्री भइसकेको व्यक्ति हो। कूटनीतिक रुपमा पनि यस्तो बेलामा म तपाईंकोमा आउन मिल्दैन।
ओलीः तपाईं पनि त मभन्दा पहिला परराष्ट्रमन्त्री बन्नुभएको थियो।
नेपाल- "२ जेठ २०७५ मा फर्कौं कमरेड। पार्टीलाई एकताबद्ध बनाऔं। मिलेर जाऔं। कसकसलाई थप्नुपर्छ, त्यही ठाउँमा छलफल गरौं। रामबहादुर थापाहरू थपिएर पनि केही फरक पर्दैन। हामी पनि दुई–चार जना मान्छे थपौंला।" ओली- "हुँदैन। जे निर्णय भएको छ, त्यो फिर्ता हुँदैन।"
नेपालः हो, नेकपा एमालेबाट म नै पहिलो परराष्ट्रमन्त्री बनेको हुँ। कूटनीतिको ज्ञान पनि छ, अनुभव पनि छ। कूटनीतिले के भन्छ भने, द्वन्द्व व्यवस्थापन गर्नु छ भने, दुवै पक्षलाई उपयुक्त स्थान चयन गर्नुपर्छ। जनतामा त्यसको के प्रभाव पर्छ भनेर पनि हेर्नुपर्छ। म अहिले बालुवाटार गएँ भने माधव नेपाल लुरुलुरु बालुवाटार आयो भन्नुहुन्छ। किनभने, यो मन मिल्दाको कुरा हो। मन चंगा तो कठौती मे गंगा!
(होटल मेरियटमा मलाई एक्लै जान मन थिएन। कुरा एउटा होला, प्रचार अर्को होला भन्ने डर थियो। माधव नेपाल मसँग समय मागेर रोइरहनुभएको थियो भन्दिनुहोला। उहाँले आफ्नो पदका लागि भिक्षा मागिराख्नुभएको थियो भन्नुहोला। तर, हाम्रा साथीहरूले एक्लै जाँदा पनि फरक पर्दैन भन्नुभयो। बालुवाटारको बालुवामा जति पेले पनि तेल आउँदैन भन्ने मलाई थाहा थियो। केपी ओली सुध्रिनु र बालुवाबाट तेल आउनु उस्तै कुरा हो। तर पनि, कोशिश गरेर हेरौं न भनेर गएँ। पहिलो दिनको वार्ताबाट थोरै उत्साहित थिएँ।)
बुधबारको छलफल
नेपालः मैले तपाईंको अध्यक्ष पद खोस्न खोजेको होइन। प्रधानमन्त्रीबाट हट्नुस् पनि भनेका छैनौं अहिले। बस्नुस् प्रधानमन्त्री, तर पार्टी चाहिँ सिस्टममा चलाऔं। मलाई पद चाहिएको छैन। माधव नेपालले बहुमत पुर्याएर मलाई हटाउँछ कि भनेर डराउनु पर्दैन। असजिलो पर्दैन।
ओलीः त्यसो भए केही उपाय छ त?
नेपालः उपाय खोज्छु। तपाईंको सरकारलाई स्थायित्व दिन भूमिका खेल्न तयार छु।
(अघिल्लो दिनको वार्ताबाट थोरै आशा जागेको थियो। दोस्रो दिन वार्तामा बस्नुभन्दा अगाडि पार्टी स्थापना दिवसको अवसरमा उहाँको भाषण प्रवचन सुनियो। हुर्मत लिने सोच रहेछ उहाँको। फेरि पनि दोस्रो दिन मेरियटमै बस्यौं।)
बिहीबारको संवाद
नेपालः २ जेठ २०७५ मा फर्कौं कमरेड। पार्टीलाई एकताबद्ध बनाऔं। मिलेर जाऔं। कसकसलाई थप्नुपर्छ, त्यही ठाउँमा छलफल गरौं। रामबहादुर थापाहरू थपिएर पनि केही फरक पर्दैन। हामी पनि दुई–चार जना मान्छे थपौंला।
ओलीः हुँदैन। जे निर्णय भएको छ, त्यो फिर्ता हुँदैन। तपाईंहरू २८ फागुनको बैठकमा किन आउनुभएन?
नेपालः तपाईंले बोलाउनुभयो हामी कसैलाई?
ओलीः बोलाएको हो, तपाईंको मोबाइल बिग्रिएको थियो कि!
नेपालः यस्तो पनि हुन्छ? हामी ९०/९७ (माधव नेपाल पक्षका केन्द्रीय सदस्य) जनाको मोबाइल एकै पटक बिग्रिन्छ? नेपाल टेलिकमले बिगारिदिएको होला! तपाईँले महाधिवेशनबाट निर्वाचित जिल्ला अध्यक्षहरूलाई पनि निकाल्नुभयो। आरोप के भने, माधव नेपाल पक्षमा भएकाले र महाधिवेशनमा माधव नेपाललाई भोट दिएकै आधारमा यसरी निकाल्न मिल्छ? एमालेको पनि अध्यक्ष र एकीकृत पार्टीको पनि अध्यक्षलाई तपाईंले हटाउन मिल्छ?
ओलीः मिल्छ। उसले राम्रो भूमिका खेलेन, हटाइदिएँ।
नेपालः तपाईंले गैरकानूनी रूपले हटाउँदै जाने अनि हामीले मान्दै जाने भन्ने हुन्छ? टोपबहादुर वाइवा, गोविन्द न्यौपाने, प्रमोद यादव लगायतलाई एकलौटी रूपमा तपाईंले हटाइदिने? कुन विधानमा छ? कुन तरिका हो?
ओलीः हैन, उनीहरूले भूमिका खेलेनन्, परिवर्तन गरिदिएँ।
नेपालः (केपी ओली कुनै पनि हालतमा एकताको पक्षमा हुनुहुन्न भन्ने बुझियो। खाए खा, नखाए घिचको मनस्थितिमा हुनुहुन्छ। माने मान, नमाने बाटो खुला छ भन्ने ढंगको अहंकार, दम्भ देखियो।) तपाईंले मलाई ६ महीना निलम्बन गर्ने?
ओलीः तपाईंको कारबाहीको विषयमा विचार गर्न सकिन्छ।
नेपालः तपाईंले मलाई एमालेबाट निकाल्ने? यो माधव नेपाल जसले संगठन र आन्दोलन दुवै सञ्चालन गर्दै आएको छ। कसैले निकालेर निक्लिनेवाला छैन। आन्दोलनबाट भाग्ने र संगठन छोडेर हिँड्नेवाला छैन।
(हिजो पनि ओली धरहरा हेर्दै हुनुहुन्थ्यो। उहाँको दम्भ धरहराभन्दा पनि माथि उक्लिएको छ। हामी आन्दोलन, पार्टी, संगठन, संघीयता छाड्दैनौं र यो संविधानको मर्म र भावना अनुसार जनतालाई अगाडि बढाउने बाटोमा लाग्छौं। एउटा व्यक्तिको मुख हेरेर आन्दोलनमा लागेका होइनौं।)