भारतमा थपिए ३ लाख ३२ हजार संक्रमित, २२ सयको मृत्यु
भारतमा एकै दिन तीन लाख ३२ हजार जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ भने दुई हजार दुई सय ५६ जनाको मृत्यु भएको छ। आईसीयू भरिएका छन् भने अक्सिजनको अभाव हुँदा संक्रमितको मृत्यु हुने क्रम बढेको छ।
कोरोनाको दोस्रो लहर चलिरहेको भारतमा लगातार तेस्रो दिन तीन लाखभन्दा बढी संक्रमित थपिएका हुन्। पछिल्लाे दुई दिनमा मात्रै पाँच लाखभन्दा बढी संक्रमित थपिएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घन्टामा तीन लाख ३२ हजार ५०३ संक्रमित थपिएसँगै सक्रिय संक्रमितको संख्या २४ लाख २८ हजार ७७५ पुगेको छ। योसँगै अहिलेसम्म भारतमा संक्रमितको संख्या एक करोड ६२ लाख ५७ हजार ३०९ पुगेको छ।
कोरोको दोस्रो लहरमा गम्भीर बिरामी र मृत्यु हुनेको संख्या पनि बढिरहेको छ। पछिल्लो २४ घन्टामा अहिलेसम्मकै सबैभन्दा बढी दुई हजार दुई सय ५६ जनाको मृत्यु भएको छ। योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख ८६ हजार ९२८ पुगेको छ।
भारतमा पछिल्लो १० दिनदेखि दैनिक एक हजारभन्दा बढी संक्रमितको मृत्यु भइरहेको छ। पछिल्लो १० दिनमा मात्रै १५ हजारले ज्यान गुमाएका छन्।
अहिले संसारभरि नै सबैभन्दा बढी संक्रमण भारतमै रहेको छ। अमेरिकामा दैनिक ६६ हजार र टर्कीमा ५४ हजार संक्रमित थपिँदा भारतमा भने तीन लाखभन्दा बढी थपिइरहेका छन्।
अहिले भारतको महाराष्ट्र र उत्तर प्रदेशमा कोरोनाको संक्रमण सबैभन्दा बढी रहेको छ। महाराष्ट्रमा ६७ हजार १३ जना र उत्तर प्रदेशमा ३४ हजार ३६७ जनामा संक्रमण पुष्टि भएको छ।
त्यस्तै, नेपालसँग जोडिएका बिहार, पश्चिम बंगाल र उत्तराखण्डमा पनि संक्रमण बढ्दै गएको छ। बिहार र पश्चिम बंगालमा १२ हजार संक्रमित थपिएका छन् भने उत्तराखण्डमा थप पाँच हजार जनामा संक्रमण देखिएको छ।
अस्पतालहरूमा बेड अभाव भएको छ। अक्सिजन सिलिन्डर जोडेर संक्रमितहरूलाई अस्पतालको बरन्डा र परिसरमा समेत राखिएको छ। कैयौं संक्रमितले अक्सिजन नपाएर ज्यान गुमाएको भारतीय मिडियाले उल्लेख गरेका छन्।
भारतमा सबैभन्दा राम्रो स्वास्थ्य सेवा भएको राजधानी दिल्लीमा पनि संक्रमितले बेड पाउन छोडेका छन्। दिल्लीका ९९ प्रतिशत आईसीयू संक्रमितले भरिएका छन्।