माउन्टेन फ्लाइटमा पूर्वदेखि पश्चिमसम्मका हिमाल किन नदेखाउने?
उत्तरी क्षेत्र पूरै हिमश्रृङ्खला भएको नेपालमा ‘माउन्टेन फ्लाइट’ दिगो एवं भरपर्दो पर्यटकीय गन्तव्य हो। तर, यसको विस्तार र प्रवर्द्धन नहुँदा अझै प्रारम्भिक चरणमै छ।
पर्यटन क्षेत्रको विकास एकैपटक भएको होइन। पर्यटक आएर बाटो देखाउने व्यक्ति खोजे, ‘गाइड’ जन्म्यो। गन्तव्यतर्फ जाँदा बाटोमा बास र गाँस खोजे, अनि होटल तथा लज बने। पर्यटकहरू मात्र आएनन्, समस्या पनि भित्र्याए। अनि सरकारको ध्यानाकर्षण भयो र पर्यटकीय नीति बने। निजी व्यक्ति र समुदायले धमाधम होमस्टे खोलेपछि ‘होमस्टे सञ्चालन निर्देशिका २०६७’ आयो।
नेपालमा सन् १९५२ पछि पर्यटनको विकास क्रमशः हुँदै आएको छ। त्यही क्रममा हिमाल आरोहण, स्काई डाइभ, पाराग्लाइडिङ, अल्ट्रालाइट, जीपलाइन, बन्जीजम्प, क्यानोनिङ, राफ्टिङ, रक क्लाइम्बिङ, ट्रेकिङ, हन्टिङ जस्ता विधा भित्रिए।
पर्यटकीय विकासका लागि माउन्टेन फ्लाइट महत्त्वपूर्ण क्षेत्र हो। तर, सरकारले पछिल्लो पटक ल्याएको ‘नेपालको राष्ट्रिय पर्यटन रणनीतिक योजना २०१६–०२५’ माउन्टेन फ्लाइटबारे मौन छ।
पूर्वमा संसारकै दोस्रो अग्लो हिमाल कञ्चनजङ्घा छ। बीचमा सगरमाथा लगायत अनेक अग्ला हिमाल छन्। पश्चिममा दार्चुला–बझाङमा अपि, सैपाल र पञ्चचुली हिमाल छन्। यी मनोरम हिमश्रृंखला पर्यटकका आकर्षण हुन्। तिनीहरूको प्रचारप्रसार र व्यापारीकरण गरी बहुआयामिक क्षेत्र, व्यवसाय र रोजगारको विकास गर्न सकिन्छ।
पदयात्रा र आरोहण, स्काई डाइभ, पाराग्लाइडिङ लगायत विविध क्षेत्रको पर्यटकीय गतिविधि सञ्चालन गर्न सकिन्छ। जनजातिका विविध संस्कृतिको प्रवर्द्धन, विकास र व्यापारीकरण गर्न सकिन्छ। जैविक विविधतालाई पर्यटकीय प्रणालीमा जोडेर अध्ययन, अनुसन्धान र प्रवर्द्धन गर्न सकिन्छ।
नेपालमा आठ हजार मिटरमाथिका हिमश्रृंखला आठ वटा छन्। सगरमाथा लगायत अन्य हिमश्रृंखला अवलोकनका लागि वार्षिक लाखौं पर्यटक आउँछन्। त्यहाँ वरिपरिका जैविक विविधता र १२४ जातजातिका संस्कृति पनि उनीहरूको रुचिमा पर्छ। गौतम बुद्धको जन्मस्थल लुम्बिनी भ्रमणमा आउनेको संख्या पनि ठूलो छ। तीमध्ये १० प्रतिशत पर्यटकलाई नेपालका हिमालहरूको मनोरम दृश्य अवलोकन गराउन सके माउन्टेन फ्लाइटलाई स्थापित गराउन सकिन्छ।
अहिले भइरहेका माउन्टेन फ्लाइटले चार भागको एक भाग हिमशृंखला मात्र अवलोकन गराउँछन्। त्रिभुवन विमानस्थलबाट उडेर थोरै समय गणेश, लामटाङ, दोर्जे लाक्पा र शिशापांमा (चीन तर्फ) हिमालहरू टाढाबाट देखाइन्छ। त्यहाँबाट पूर्वतर्फ गौरीशंकर, लोत्से, चोयु हुँदै सगरमाथा, मकालु र कुम्भकर्ण देखाएर फर्काइन्छ। यो यात्रा करीब ५५ मिनेटको हुन्छ।
त्यसैले पूर्वको कञ्चनजंघादेखि अपि हिमालसम्मको बृहत् र टुक्रा–टुक्रा गरी चार भागको उडान गर्न मिल्छ। अथवा सम्पूर्ण हिमश्रृंखलालाई दुई भागमा वर्गीकरण गरी एक घण्टा ३० मिनेटदेखि दुई घण्टाको माउन्टेन फ्लाइट गर्न सकिन्छ। प्रादेशिक रूपमा विराटनगर, पोखरा र नेपालगन्जबाट पनि तत्तत् क्षेत्रको माउन्टेन फ्लाइट सञ्चालन गर्न सकिन्छ। मकालुभन्दा पूर्व कुम्भकर्ण, कञ्चनजंघा पुग्न २०/३० मिनेट लाग्छ। त्यसैगरी काठमाडौंबाट उडेर लामटाङ, गणेश हिमाल, बुद्ध हिमाल, मनास्लु, अन्नपूर्ण–४, अन्नपूर्ण, नीलगिरी, माछापुच्छ्रे, धवलागिरी–४, हिमचुली अवलोकन गर्न अर्को ३० मिनेट लाग्छ। त्यसभन्दा अझ पश्चिम– गुर्जा, चुरेन, पुठा, सिस्नेहिमाल, कान्जिरोवा, पञ्चचुली, साइपाल, अपि हिमाल पुग्न अर्को ३०/४० मिनेट लाग्छ।
हाल काठमाडौंबाट बुद्ध एयरले मात्र एकै समय (बिहान ६ः३० बजे) ६ वटासम्म माउन्टेन फ्लाइट गर्छ। यसरी हिमाल हेर्न जाने प्रायः विदेशी नै हुन्छन्। त्यसैले यसलाई विस्तार गर्न सकियो भने देशकै आम्दानी बढ्छ।
यस क्षेत्रका केही समस्या र चुनौती पनि छन्। जस्तैः मौसम प्रतिकूल हिमाल नजिकसम्म जहाज उडाउन मिल्दैन। जसकारण हिमालहरू नजिकबाट प्रष्ट देख्न सकिँदैन। जहाजहरूमा एउटा झ्याल बराबर एक जना पर्यटक राख्नुपर्छ। तर, झ्यालविनाको सिटलाई कम पैसा लिएर उडाउन सकिन्छ। परिचारिकालाई हिमालहरूबारे ज्ञान हुनुपर्छ। हिमाल र सम्बन्धित ठाउँबारे बयान गर्नुपर्छ।
यसरी हुन्छ माउन्टेन फ्लाइट
काठमाडौंबाट माउन्टेन फ्लाइट शुरू भएपछि नै निकै सुन्दर दृश्यहरू हेर्न पाइन्छ। उत्तरतर्फ गणेश र लामटाङ हिमाल छन्। दक्षिणतर्फ फूलचोकी, चन्द्रागिरि र अन्य हरिया डाँडा छन्। यी दृश्य देखाउँदै जहाज पूर्वतर्फ लाग्छ।
पूर्व जाँदै गर्दा सूर्यको प्रकाशले हिमश्रृंखला पूरै सिन्दूरे भइसक्छ। अनि देखिन्छन्, गौरीशंकर लगायत हिमाल। सगरमाथा छेउछाउ पुग्दा परिचारिकाहरूले पर्यटकलाई जहाजको ककपिटमा गएर सगरमाथा र मकालु अवलोकन गर्न अनुरोध गर्छन्। पालैपालो हेर्ने र फोटो खिच्ने मौका पाइन्छ।
त्यसपछि जहाज मकालु नजिक भएर फर्कन्छ। घुम्ने क्रममा जहाज हिमाल नजिकै पुग्छ। आफू बसेको झ्यालको सीट हिमालको विपरीत दिशामा पुग्छ। त्यसपछि दक्षिणका हरिया पहाड, फाँट, उपत्यका, खोला र बस्ती देखिन्छ। विपरीत दिशाको सीटमा बसेका यात्रुका लागि भने झ्याल हिमालतिर पर्छ।
जहाज क्रमशः गौरीशंकर (दोलखा)तिर आएपछि तल झर्न शुरू हुन्छ। अनि चौतारा, धुलिखेल, नगरकोट, भक्तपुर हुँदै पुनः त्रिभुवन विमानस्थलमा अवतरण गर्छ। अहिले हुने माउन्टेन फ्लाइट यतिमै सकिन्छ।
यसरी माउन्टेन फ्लाइट गरिसकेपछि जहाजबाट बाहिर निस्केने क्रममा जहाज कम्पनीले हिमाल श्रृंखला अवलोकन हवाई यात्रा सम्पन्न गरेको एउटा प्रमाणपत्र दिन्छ। त्यो प्रमाणपत्रका साथ नेपाल पर्यटन बोर्डले वितरण गर्ने सगरमाथाको पोस्टर दिए धेरै महत्त्वपूर्ण हुन्थ्यो।
नेपालको पर्यटन विकासमा बाह्य पर्यटक मात्रै नभएर आन्तरिक पर्यटकहरूलाई पनि हुने कार्यक्रम, रणनीति र योजनाहरू हुनुपर्छ। किनभने, पछिल्लो समय आन्तरिक पर्यटकको घुमफिर बढेको छ। पर्वतीय अवलोकन उडानको क्षेत्रमा पनि आन्तरिक पर्यटक आकर्षण गर्न सकिन्छ।
यो क्षेत्रलाई आकर्षक र व्यवस्थित बनाउन आन्तरिक, क्षेत्रीय र अन्तर्राष्ट्रिय क्षेत्रमा व्यापक प्रचारप्रसार गर्नु आवश्यक छ। विभिन्न रुचि, चहाना र इच्छा भएका पर्यटकलाई हाम्रा विविध सम्पदाको प्रचार गर्नुपर्छ। तर, माउन्टेन फ्लाइट विस्तार र प्रवर्द्धन गर्ने कार्यक्रमको अभाव छ। यो क्षेत्रमा हामी प्रारम्भिक चरणमै छौँ। त्यसैले सम्भावना ठूलो छ।