एनआरएन नेपाल विकास काेषको स्थापना
नेपालमा पूर्वाधार, उत्पादनशील लगायतका क्षेत्रमा लगानी गर्ने गरी रू.१० अर्ब पूँजी भएको एनआरएन नेपाल विकास काेष स्थापना भएको छ।
अर्थ मन्त्रालय र गैरआवासीय नेपाली संघद्वारा सोमबार आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार, एनआरएन नेपाल विकास काेषमा गैरआवासीय नेपालीको रू.९ अर्ब ५० करोड र नेपाल सरकारको रू.५० करोड शेयर लगानी हुनेछ।
२०७५ सालमा सम्पन्न लगानी सम्मेलनमा नेपाल सरकार र गैरआवासीय नेपाली संघबीच भएको समझदारी बमोजिम गैरआवासीय नेपाली संघले स्थापना गर्ने कम्पनीमा नेपाल सरकारको ५ प्रतिशत लगानी हुने भएको हो।
पत्रकार सम्मेलनमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल सबै हिसाबले लगानीमैत्री भएको भन्दै लगानीदूतको भूमिका निर्वाह गर्न गैरआवासीय नेपालीलाई आग्रह गरे। पौडेलले भने, “सरकार कानूनी र नीतिगत रूपमा विदेशी पूँजी भित्र्याउन प्रतिबद्ध छ। छरिएर रहेको स्वदेशी पूँजीको परिचालन मात्र होइन, विदेशी पूँजी पनि ल्याउन चाहन्छ।”
गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले केही वर्षमा काेषमा लगानीयोग्य रकम रू.५० अर्बभन्दा बढी पुर्याउने बताए।
यो कम्पनीमा रू.३ अर्ब बराबरको वैदेशिक मुद्रामा लगानीको प्रतिबद्धता प्राप्त भइसकेको छ। नेपालको उद्यम, व्यवसाय र यातायात, पूर्वाधार लगायतका क्षेत्रमा लगानी गर्ने कम्पनीको मुख्य उद्देश्य रहेको छ।
गैरआवासीय नेपालीलाई लक्षित गरी छिटै प्राथमिक शेयर आईपीओ निष्काशन गरिने योजना रहेको गैरआवासीय नेपाली संघले जनाएको छ।