एक महीना सर्यो राप्रपाको महाधिवेशन
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिवेशन एक महीना सरेको छ।
राप्रपा अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीको उपस्थितिमा बसेको केन्द्रीय सचिवालय कार्य व्यवस्था समितिको बैठकले महाधिवेशन सार्ने निर्णय गरेको हो। बैठकले महाधिवेशनको कार्यतालिका फरेबदल गरेको केन्द्रीय सचिवालय प्रमुखद्वय भाष्कर भद्रा र ध्रुवबहादुर प्रधानले जनाएका छन्।
अब राप्रपाको महाधिवेशन २२ देखि २५ जेठमा काठमाडौंमा हुने भएको छ। यसअघि २५ देखि २८ वैशाखमा तोकिएको थियो।
यससँगै अन्य कार्यतालिका पनि परिवर्तन गरिएको छ। वैशाख मसान्तसम्म सक्रिय सदस्यता वितरण र जिल्ला तहको अधिवेशन गरी सक्ने जनाएको छ। यस्तै, ७ जेठभित्र प्रदेशको अधिवेशन गरिने भएको छ।
महाधिवेशनका लागि प्रतिनिधिको निर्वाचन १० जेठमा तोकिएको राप्रपाले जनाएको छ।