भारतमा २० लाख पुगे सक्रिय संक्रमित
कोभिड–१९ को दोस्रो लहर चलेसँगै भारतमा सक्रिय संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएको छ भने, अस्पतालहरू भरिएका छन्। मंगलबार बिहानसम्म सक्रिय संक्रमितको संख्या २० लाख नाघेको छ।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार, पछिल्लो २४ घन्टामा २ लाख ५६ हजार ९४७ संक्रमित थपिएका छन्। योसँगै सक्रिय संक्रमितको संख्या २० लाख ३० हजार ९४४ पुगेको हाे।
पछिल्लो १० दिनमै सक्रिय संक्रमितको संख्या दोब्बर भएकाे छ। एक सातामै ७ लाख ७० हजार संक्रमित थपिएका छन्। भारतमा काेराेना संक्रमित हुनेको संख्या १ करोड ५३ लाख १४ हजार ७१४ पुगेको छ।
त्यस्तै, पछिल्लो २४ घन्टामा कोरोनाबाट १ हजार ७५७ जनाको मृत्यु भएको छ। योसँगै भारतमा १ लाख ८० हजार ५५० जनाले ज्यान गुमाइसकेका छन्।
सक्रिय संक्रमित सबैभन्दा बढी रहेको राज्यमा नेपालसँग जोडिएको उत्तर प्रदेश रहेको छ। उत्तर प्रदेशमा सक्रिय संक्रमित २ लाख ८ हजार ५२३ पुगेका छन्।
त्यस्तै, कर्नाटकमा १ लाख ३ हजार ३२७ र दिल्लीमा ७६ हजार ८८७ सक्रिय संक्रमित छन्।
कोरोना संक्रमितको संख्या बढेसँगै भारतमा अस्पतालको शय्या र अक्सिजनको अभाव भएको छ। कतिपय अस्पतालमा गम्भीर बिरामीले पनि भर्ना पाउन नसकेको भारतीय मिडियाले जनाएका छन्।