माधव नेपालसहित आठ नेतालाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय
नेपाल कम्युनिष्ट पार्टी (एमाले) महाधिवेशन आयोजक कमिटीको बैठकले आठ नेतासँग स्पष्टीकरण लिने निर्णय गरेको छ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सोमबार बसेको बैठकले कर्णाली प्रदेश सभामा फ्लोर क्रस गर्न र गराउन भूमिका खेलेको भन्दै दुई दिनभित्र स्पष्टीकरण माग्ने निर्णय गरिएको एमाले प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए।
परराष्ट्रमन्त्री समेत रहेका प्रवक्ता ज्ञवालीका अनुसार, माधवकुमार नेपाल, भीमबहादुर रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, प्रकाश ज्वाला, नन्दसिंह बुढा, कुर्मराज शाही र अमरबहादुर थापासँग स्पष्टीकरण सोध्ने निर्णय भएको हो।
अध्यक्ष ओली पक्षले पूर्वप्रधानमन्त्री तथा पार्टीका पूर्वमहासचिव नेपाल, रावल, पाण्डे र भुसाललाई यसअघि नै ६ महीनाका लागि निलम्बन गरिसकेको छ। उनीहरू चारै जनालाई यसअघि पनि स्पष्टीकरण सोधिएको थियो।
कर्णाली प्रदेश सभा सदस्य ज्वाला, बुढा, शाही र थापाले ३ वैशाखमा पार्टी ह्विप विपरीत त्यहाँका मुख्यमन्त्री कर्णबहादुर शाहीको पक्षमा मतदान गरेका थिए। फ्लोर क्रस गरेका ज्वालाबाहेक सबै शाही नेतृत्वको सरकारमा मन्त्री छन्।
महाधिवेशन आयोजक समितिको बैठक एमाले वरिष्ठ नेताद्वय माधव नेपाल र झलनाथ खनाल पक्षले बहिष्कार गरेका थिए। समितिको अर्को बैठक १० वैशाखमा पुनः बस्ने प्रवक्ता ज्ञवालीले बताए।