प्रतिनिधि सभाको अधिवेशन अन्त्य
प्रतिनिधि सभाको चालू अधिवेशन अन्त्य भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिशमा अधिवेशन अन्त्य गरेकी छिन्।
राष्ट्रपति भण्डारीले सभामुखलाई पत्र पठाएर अधिवेशन अन्त्य गरिएको जानकारी दिएकी छिन्। राष्ट्रपतिले पठाएको पत्रमा भनिएको छ, “नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८\०१\६ को सिफारिशमा प्रतिनिधि सभाको चालू अधिवेशन संवत् २०७८ साल वैशाख ६ गते सोमबारका दिन अपराह्न १ः०० बजेदेखि अन्त्य गरेको छु।”
यसअघि आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यका लागि सिफारिश गर्ने निर्णय गरेको थियो। अब बजेट अधिवेशनको समय हुन लागेकोले चालू अधिवेशन अन्त्य गर्नुपरेको जनाएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत ५ पुसमा गरेको प्रतिनिधि सभा विघटनको निर्णयलाई बदर गर्दै सर्वोच्च अदालतले प्रतिनिधि सभा बैठक बोलाउन आदेश दिएको थियो। ११ फागुनमा सर्वोच्चले दिएको आदेशका आधारमा २३ फागुनमा प्रतिनिधि सभाको बैठक बसेको थियो।