बुद्ध जन्मस्थल लुम्बिनीलाई कसरी चिन्ने?
बुद्धको जन्मस्थलको विषय चर्चामा आउँदा नेपालमा प्रायः नारा लाग्छ, ‘बुद्ध वज बर्न इन नेपाल।’ के यतिले मात्रै पुग्छ?
बुद्धको जन्मस्थल लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तिय यसलाई वैचारिक केन्द्र बनाउनुपर्ने बताउँछन्। “भगवान् बुद्धको जन्मथलो कुनै एउटा सामान्य तीर्थस्थल मात्रै नभएर एउटा वैचारिक केन्द्र हुनुपर्छ,” उपाध्यक्ष मेत्तिय भन्छन्।
लुम्बिनीको ऐतिहासिक र पुरातात्त्विक महत्त्वकाे विषयमा चर्चा हुने गरेको छैन। अझ लुम्बिनीमा आउने पर्यटकको व्यवस्थापनको विषय उठ्ने गरेको छैन। यसको संरक्षण र संवर्द्धनका विषयमा पनि खासै चर्चा भएको पाइँदैन।
केवल ‘बुद्ध वज बर्न इन नेपाल’ भनेर मात्रै लुम्बिनीको ऐतिहासिक र पुरातात्त्विक महत्त्व जोगाइराख्न सकिन्छ त? अध्येता वसन्त महर्जन त्यतिले मात्रै नपुग्ने बताउँछन्। महर्जन भन्छन्, “दुनियाँ बुद्धको उपदेशबाट लाभान्वित हुने। हामी चाहिँ ‘बुद्ध वज वर्न इन नेपाल’ मात्रै भनेर बस्ने हो भने त खासै उपलब्धि पाउँदैनौं।”
त्यसो भए अब के गर्नुपर्छ? यस सम्बन्धी विशेष रिपोर्ट हिमालमिडियाले निर्माण गरिरहेको भिडिओ म्यागजिन ‘सग्लो समाज’को नयाँ अंक ‘शाक्य मुनिको लुम्बिनी, हाम्रो बुझाइ’मा हेर्न र सुन्न सकिनेछ। यो कार्यक्रम आज राति ८ः३० बजे हिसहोमको सरोकार च्यानल १३० बाट प्रसारण हुनेछ।