फ्लोर क्रस गर्ने तीन सांसद एमालेबाट निष्कासित, ज्वालालाई निष्कासन गर्न केन्द्रलाई सिफारिश
नेकपा (एमाले) कर्णाली प्रदेश कमिटीले प्रदेश सभामा फ्लोर क्रस गर्ने तीन जनालाई सांसदलाई सदस्यबाट समेत निष्कासन गरेको छ भने एक जनालाई निष्कासन गर्न केन्द्रलाई सिफारिश गरेको छ।
एमाले प्रदेश कमिटीले सांसदहरू डोल्पाका नन्दसिंह बुढा, दैलेखका अमरबहादुर थापा र कालिकोटका कुम्भराज शाहीलाई सदस्यबाट समेत निष्कासन गरेको हो। तीनै जनालाई ३ वैशाखबाटै लागू हुने गरी निष्कासन गरिएको एमाले प्रदेश कमिटी अध्यक्ष गोरखबहादुर बोगटीले जनाएका छन्।
३ वैशाखमा कर्णाली प्रदेश सभामा भएको मतदानमा एमालेका ४ जना सांसदले फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा मतदान गरेका थिए। जसले गर्दा मुख्यमन्त्री शाही विश्वासको मत प्राप्त गर्न सफल भएका थिए।
एमाले संसदीय दलले ह्विप उल्लंघन गर्दै फ्लोर क्रस गर्ने कर्णाली प्रदेश सभाका ४ सदस्यहरू प्रकाश ज्वाला, नन्दसिंह बुढा, अमरबहादुर थापा र कुम्भराज शाहीलाई निष्कासन गर्न सिफारिश गरेको थियो। संसदीय दलको सिफारिशका आधारमा प्रदेश कमिटीका सदस्य समेत रहेका बुढा, थापा र शाहीलाई निष्कासन गरिएकाे हो।
सांसद ज्वाला भने एमाले राष्ट्रिय महाधिवेशन आयोजक कमिटीका सदस्य छन्। त्यसैले उनलाई पार्टीबाट निष्कासन गर्न प्रदेश कमिटीले महाधिवेशन आयोजक कमिटीलाई सिफारिश गरेको प्रदेश अध्यक्ष बोगटीले जनाएका छन्। सांसद ज्वालालाई पनि सदस्य समेत नरहने गरी निष्कासन गर्न सिफारिश गरिएको छ।
सांसद प्रकाश ज्वालाकाे अन्तर्वार्ता :