कुशल र आसिफको अर्धशतकमा नेपालको सहज जित
कुशल भुर्तेल र आसिफ सेखले अर्धशतक प्रहार गरेपछि त्रिकोणात्मक टी–२० प्रतियोगितामा नेपालले नेदरल्यान्ड्समाथि सहज जित निकालेको छ।
शनिबार त्रिवि क्रिकेट मैदानमा भएको त्रिकोणात्मक शृंखलाको पहिलो खेलमा नेपालले ९ विकेटले जित हासिल गरेको हो। नेपालका लागि प्रारम्भिक ब्याट्सम्यान कुशल र आसिफले ११६ रनको साझेदारी गरे।
नेदरल्यान्ड्सले दिएको १३७ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १५ ओभरमा १ विकेट गुमाएर जित हासिल गरेको छ। प्रारम्भिक ब्याट्सम्यान कुशलले ४६ बलमा ६२ र आसिफले ३८ बलमा ५४ रन बनाए। त्यस्तै, कप्तान ज्ञानेन्द्र मल्लले ७ बलमा १३ रन प्रहार गरे।
नेदरल्यान्ड्सका लागि जुलियन डी मेले एक विकेट लिए। अन्य खेलाडीले विकट लिन सकेनन्।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले ४ विकेटको क्षतिमा १३६ रन बनाएको थियो। नेदरल्यान्ड्सका लागि बास डी लिडले ४१, स्कट इडवार्डले ३०, पिटर सिलरले २३ र एन्टोनिस स्टलले २० रन बनाए।
नेदरल्यान्ड्सलाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि सन्दीप लामिछानेले २, सोमपाल कामी र सहाब आलमले १-१ विकेट लिएका थिए।
त्रिकोणात्मक शृंखलाको दोस्रो खेल भोलि नेदरल्यान्ड्स र मलेसियाबीच हुनेछ।