स्वास्थ्य मन्त्रालय होइन, स्थानीय तहको निर्णय अनुसार गर्नुः शिक्षा मन्त्रालय
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय बन्द गर्ने नगर्ने विषयमा स्थानीय तहहरूको निर्णय मान्न भनेको छ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री ह्रदयेश त्रिपाठीले काठमाडौंसहित १४ वटा जिल्लामा विद्यार्थीलाई विद्यालय नजान अपील गरेको भोलिपल्ट शुक्रबार शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले यस्तो निर्णय गरेका हुन्।
शिक्षामन्त्री श्रेष्ठले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)सँगको समन्वयमा विद्यालय बन्द गर्न सकिने निर्णय गरेको मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए।
“स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमण फैलिएको वा संक्रमणको जोखिम उच्च भएको भनी पहिचान गरेका जिल्ला, शहर वा स्थान विशेषको हकमा डिसिसिएमसीको समन्वयमा सम्बन्धित स्थानीय तहको निर्णय बमोजिम त्यस्ता विद्यालयहरू बन्द वा तोकिए बमोजिम सञ्चालन गर्नुहुन र बन्द गरिएका विद्यालयहरू पुनः सञ्चालन गर्दा विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा, २०७७ मा तोकिएका विधि तथा प्रक्रियाहरूको पालना गर्नुहुनका साथै विद्यालयहरू बन्द वा आंशिक रुपमा सञ्चालन भएको अवस्थामा विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका, २०७७ ले गरेको व्यवस्था बमोजिम सिकाइ क्रियाकलापहरूलाई निरन्तरता दिनुहुन अनुरोध छ” मन्त्रालयद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिसिएमसीलाई गरेको केही हप्ता विद्यालय बन्द गर्ने सिफारिशको शिक्षा मन्त्रालयले विरोध गरेको थियो । त्यसपछि स्वास्थ्य मन्त्रालयले विद्यार्थीलाई विद्यालय नजान अपील गरेको हो ।