भेरी अस्पतालमा भर्ना भएका ७४ मध्ये ४९ संक्रमितको अवस्था गम्भीर
कोरोनाभाइरसको संक्रमण भएपछि नेपालगञ्जस्थित भेरी अस्पतालमा भर्ना भएका आधाभन्दा बढी संक्रमितको अवस्था गम्भीर छ।
बाँकेलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशका कोरोना संक्रमित भेरी अस्पताल भर्ना हुने गरेका छन्। शुक्रबार बिहानसम्म अस्पतालमा ७४ जना संक्रमित उपचाररत छन्। उनीहरूमध्ये ४९ जनाको अवस्था गम्भीर रहेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र, बाँकेका स्रोतव्यक्ति तेज वलीले बताए।
उनका अनुसार, केहीलाई आईसीयूमा राखिएको छ भने केहीलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। आईसीयू र भेन्टिलेटरमा राखेर उपचार भइरहेका ४९ जनाको अवस्था गम्भीर बनेको हो।
भेरी अस्पतालमा उपचाररत एक जनाको आज बिहान मृत्यु भएको छ। उनी सुर्खेतको गुर्भाकोट नगरपालिका–१३ का ३१ वर्षीय युवक रहेको वलीले बताए।
उनी एक हप्ताअघि मात्र भारतबाट फर्किएका थिए। स्वास्थ्यमा समस्या देखिएपछि स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो।
कोरोना पुष्टि भएपछि गत ३१ चैतमा भेरी अस्पतालको कोभिड वार्डमा भर्ना गरिएको थियो। उनको उपचारका क्रममा आज बिहान ७ः३५ मा मृत्यु भएको वलीले जानकारी दिए।
अहिलेसम्म कोरोनाबाट उपचारका लागि बाँके आएका १५२ जनाको मृत्यु भएको छ। जसमा बाँकेका ५९ र बाहिरी जिल्लाबाट उपचारका लागि आएका ९३ जना रहेको वलीले बताए।
अहिले बाँकेमा सक्रिय सङ्क्रमितको सङ्ख्या २८२ पुगेको छ। बाँकेमा बढ्दै गएको कोरोनाभाइरस सङ्क्रमण रोकथामका लागि जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले भीडभाड र जमघट हुने स्थानलाई बन्द गर्ने निर्णय गरिसकेको छ। त्यस्तै, अत्यावश्यकबाहेक नेपाल–भारत सीमानाकामा आवतजावत पनि रोक्ने निर्णय गरेको छ।
यससँगै स्थानीय तहमा कम्तीमा ५० शय्याको आइसोलेसन केन्द्र स्थापना र सञ्चालन गर्ने, नेपालगञ्ज उपमहानगरपालिकाभित्र यसअघि सञ्चालनमा आएका १२० शय्याको ह्वाइटहाउस आइसोलेसन पुनः सञ्चालन गर्ने, कोरोना बिरामी ओसारपसार गर्न प्रत्येक स्थानीय तहमा एउटा एम्बुलेन्स तयारी अवस्थामा राख्ने केन्द्रको बैठकले निर्णय गरेको छ।
भेरी अस्पतालको १४२ शय्याको आइसोलेसनमा जनशक्ति थपेर सञ्चालनका लागि तयारीमा राख्ने तथा यसअघिका जिल्लामा रहेका सबै आइसोलेसन सेन्टर, होल्डिङ सेन्टर तयारी अवस्थामा राख्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए। (राससकाे सहयाेगमा)