विपक्षी दलहरूले गण्डकी प्रदेश सभाको विशेष अधिवेशन माग गर्ने
नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जसपाका सांसदहरूले गण्डकी प्रदेश सभाको विशेष अधिवेशनको माग गर्ने भएका छन् । तीन वटै पार्टीका सांसदहरू मिलेर समावेदन दर्ता गर्ने तयारी भएको माओवादी केन्द्रकी सांसद आशा कोइरालाले जानकारी दिइन्।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आफूविरुद्धको अविश्वासको प्रस्ताव छल्न बुधबार मध्यरातिदेखि लागू हुनेगरी अधिवेशन अन्त्य गर्न सिफारिश गरेका थिए ।
“हामीले बिहीबार अविश्वासको प्रस्ताव दर्ता गर्न लागेको थाहा पाएपछि मुख्यमन्त्रीज्यूले बुधबार नै अधिवेशन अन्त्यका लागि सिफारिश गर्नुभएछ,” सांसद कोइराला भन्छिन्, “बिहीबारै हामी विशेष अधिवेशनका लागि समावेदन दर्ता गर्छौं ।”
कम्तीमा एकचौथाइ सांसदको हस्ताक्षरमा समावेदन दर्ता भएमा विशेष अधिवेशन बोलाउनुपर्ने संवैधानिक व्यवस्था छ ।
जसपा सांसद हरिशरण आचार्य ६० सदस्यीय प्रदेश सभामा विश्वासको मत पुग्ने नदेखेपछि गुरुङले अराजनीतिक ढंगले संसद् छल्न खोजेको बताउँछन् ।
गण्डकीमा एमालेका २८, कांग्रेसका १५, माओवादी केन्द्रका ११, जनमोर्चाका तीन, जसपाका दुई र एक जना स्वतन्त्र सांसद छन् ।