भारतमा एकै दिन थपिए २ लाख संक्रमित, नेपालसँग जाेडिएकाे उत्तर प्रदेशमा सबैभन्दा बढी
कोरोनाभाइरसको दोस्रो लहर चलिरहेको भारतमा एकै दिन २ लाख संक्रमित थपिएका छन् भने १ हजार संक्रमितको मृत्यु भएको छ।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २ लाख ७३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो अहिलेसम्मकै बढी दैनिक संक्रमण हो।
अहिले भारतमा संक्रमितको संख्या १० दिनमा दोब्बर भइरहेको छ। १० दिनअघि एक लाख संक्रमित पुष्टि भएका थिए।
यो अन्य देशको तुलनामा अत्यधिक हो। अमेरिका, ब्राजिल लगायत संक्रमणको चपेटामा रहेका देशमा २१ दिनमा संक्रमितको संख्या दोब्बर भइरहेको छ।
अमेरिकामा ३० अक्टाेबरमा १ लाख संक्रमित थपिएका थिए भने २० नोभेम्बरमा २ लाख पुगेका थिए। अमेरिकामा सबैभन्दा बढी ८ जनवरीमा ३ लाख ९ हजार ३५ संक्रमित थपिएका थिए।
भारतमा दोस्रो लहर चलेयता पछिल्लो ११ दिनमा सबैभन्दा बढी संक्रमित थपिँदै आएका छन्। योसँग भारतमा संक्रमितको संख्या १ करोड ४० लाख ७० हजार ८९० पुगेको छ।
त्यस्तै, कोरोनाबाट मृत्यु हुनेको संख्या पनि १ हजार नाघेको छ। पछिल्लो २४ घन्टामा १ हजार ३५ जनाको ज्यान गएको छ। यसअघि बुधबार १ हजार ३८ जनाको मृत्यु भएको थियो।
अहिले सबैभन्दा बढी संक्रमित नेपालसँग जोडिएको उत्तर प्रदेशमा देखिएका छन्। उत्तर प्रदेशले महाराष्ट्रलाई पनि उछिनेको छ।
पछिल्लो २४ घन्टामा उत्तर प्रदेशमा २० हजार ५१० जनामा संक्रमण पुष्टि भएको छ। यसमा उत्तर प्रदेशमा मुख्यमन्त्री योगी आदित्यनाथ पनि छन्।
उत्तर प्रदेशमा चार दिनमै संक्रमितको संख्या दोब्बर भएको छ। चार दिनअघि १० हजार संक्रमित पुष्टि भएका थिए।
महाराष्ट्रमा संक्रमितको संख्या घटेको छ। पछिल्लो २४ घन्टामा २० हजार संक्रमित थपिएका छन्। महाराष्ट्रमा बन्दाबन्दी गरिएको छ।
त्यस्तै, तेस्रो नम्बरमा दिल्ली रहेको छ। पछिल्लो २४ घन्टामा १७ हजार २८२ संक्रमित थपिएका छन्। दिल्लीमा पनि ३ दिनअघि १० हजार संक्रमित मात्रै थिए।
त्यस्तै, कर्नाटकमा ११ हजार २६५, मध्यप्रदेशमा ९ हजार ७२०, गुजरातमा ७ हजार ४१०, राजस्थानमा ६ हजार २००, हरियाणामा ५ हजार ३९८, पश्चिम बंगालमा ५ हजार ८९२ र बिहारमा ४ हजार ७८६ जनामा संक्रमण देखिएको छ।
पछिल्लो समय नेपालसँग सीमा जोडिएका उत्तर प्रदेश, पश्चिम बंगाल र बिहारमा पनि संक्रमण बढ्दै गएको छ। जसले गर्दा नेपालमा पनि संक्रमणको जोखिम बढेको छ।