कर्णालीका मुख्यमन्त्री शाहीले विश्वासको मत लिने
नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिने भएका छन्।
विश्वासको मत लिने वातावरण बनाउन माग गर्दै उनले कर्णाली प्रदेश सभा सचिवालयलाई पत्राचार गरेका छन्।
“नेपालको संविधानको धारा १८८ को उपधारा (२) बमोजिम प्रदेश सभाबाट विश्वासको मत लिने प्रयोजनका लागि आवश्यक व्यवस्था मिलाइदिनुहुन अनुरोध गर्दछु,” मुख्यमन्त्री शाहीले पत्रमा लेखेका छन्।
सर्वोच्च अदालतले साबिक एमाले र माओवादी केन्द्र ब्युँताएपछि ५ चैतमा एमालेले शाही नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।
कर्णालीमा एमालेका २०, माओवादीका १३, कांग्रेसका ६ र राप्रपाका एक सांसद छन्। एमाले प्रवेश गरेका प्रदेश सांसद धर्मराज रेग्मीलाई माओवादीले कारबाही गरिसकेको छ। एमालेका सांसदहरूले समर्थन नगर्ने हो भने शाहीको बहुमत नपुग्ने निश्चित छ।