बालबालिकामा पनि देखियो कोरोनाको नयाँ भेरिएन्ट, ४८ घण्टामा ११८ संक्रमित
नोबेल कोरोनाभाइरस (कोभिड–१९) को नयाँ भेरिएन्ट बालबालिकामा पनि देखिएको छ। नेपालमा युके भेरिएन्ट पुष्टि भएका १५८ मध्ये २६ जना बालबालिका तथा किशोरकिशोरी रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेलले बताए। युके भेरिएन्ट देखिएकामध्ये चार जना १० वर्ष भन्दा कम उमेरका छन्।
डा. पाैडेलका अनुसार गत हप्ता काठमाडौंमा संकलित ७६ जनाको नमूनामध्ये ४८ जनाको एस जिन नेगेटिभ भेटिएको थियो। त्यसमध्ये २० प्रतिशत २० वर्षभन्दा कम उमेर समूहका छन्।
त्यस्तै, पोखरामा संकलित १७६ नमूनामध्ये १०५ मा एस जिन नेगेटिभ भेटिएको र त्यसमध्ये ५१ जना १० देखि १४ वर्ष उमेर समूहका रहेको निर्देशक पौडेलले बताए। उनी भन्छन्, “कुन समूहमा संक्रमण बढिरहेको छ भन्ने यी आँकडाहरूले प्रष्ट देखाउँछन्।”
कोरोनाको पहिलो लहर आउँदा उमेर समूह बढेसँगै मृत्युदर बढेको देखिन्थ्यो। दोस्रो लहरका बेला भने बालबालिका, किशोर–किशोरी र युवा उमेर समूहमा संक्रमण बढी देखिन्छ।
“बिरामीले अस्पताल नपाउने र स्वास्थ्य प्रणाली नै धान्न सक्दैन कि भन्ने जोखिम छ,” डा. पौडेलले मन्त्रालयकाे नियमित पत्रकार सम्मेलनमा भने ।
४८ घण्टामा १९ वर्षमुनिका ११८ जनालाई कोरोना संक्रमण
केही दिनयता बालबालिका तथा किशोर–किशोरीमा नोबेल कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण अत्यधिक बढेको देखिन्छ। बुधबार १९ वर्षभन्दा कम उमेरका ७० जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले बताए।
७० जनामध्ये ४८ जना १० देखि १९ वर्ष उमेर समूहका छन्। मंगलबार संक्रमण पुष्टि भएकामध्ये ४८ जना १९ वर्षभन्दा कम उमेरका छन्।
“पछिल्लो दुई हप्ताको तथ्यांक हेर्दा संक्रमितमध्ये १० देखि १८ प्रतिशत बालबालिका छन्,” कान्ति अस्पतालका निर्देशक प्रा. डा. आरपी विच्छा भन्छन्, “१० वर्षदेखि १८ वर्ष उमेर समूहमा ६० प्रतिशत संक्रमण छ, अर्को डरलाग्दो भेरिएन्ट देखिनु झनै जोखिमपूर्ण हो।”
एकै दिन थपिए ६०३ संक्रमित, काठमाडौंमा मात्रै २५४
स्वास्थ्य मन्त्रालयका अनुसार बुधबारसम्म कोभिड–१९ बाट ३ हजार ६१ को मृत्यु भइसकेको छ। ४ हजार ५६ जना सक्रिय संक्रमित रहेको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए।
पछिल्लो २४ घण्टामा ६०३ जना नयाँ संक्रमित थपिएको मन्त्रालयले जनाएको छ। यो संख्या ४ हजार ७४० नमूना परीक्षण गर्दाको हो।
आज थपिएका संक्रमितमध्ये २५४ जना काठमाडौं उपत्यकाका छन्। जसमध्ये काठमाडौंका १७३, भक्तपुरका ६१ र ललितपुरका २० जना छन्।
ललितपुरमा दोहोरो म्युटेसन (स्वरूप परिवर्तन गरेको) भएको नमूना फेला परेको मन्त्रालयले जनाएको छ। “यसले बताउँछ, नेपालमा पनि भेरिएन्ट राम्ररी फैलिएको छ,” इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.पौडेल भन्छन्, “यसरी भेरिएन्ट फैलिंदै जानुमा शुरूमा बेलायतमा देखिएको बी.१.१.७. एस जिन मुख्य जिम्मेवार छ।”