तीनचौथाइ समय सकियो, ७० प्रतिशत पूँजीगत बजेट खर्च हुनै बाँकी
चालू आर्थिक वर्षको तीनचौथाइ समय घर्किँदा सरकारको विकास लक्षित खर्च भने जम्मा एकतिहाइभन्दा थोरैमा सीमित भएको छ।
महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार, चैत मसान्तसम्ममा रू.१ खर्ब ३ अर्ब पूँजीगत बजेट खर्च भएको छ। यो वार्षिक लक्ष्यको २९.२२ प्रतिशत हो। यो वर्ष सरकारले पूँजीगत खर्च गर्न रू.३ खर्ब ५२ अर्ब ९१ करोड छुट्याएको थियो।
नाै महीनामा विकास लक्षित बजेट खर्च न्यून भएकाले अबका तीन महीनामा लक्ष्यअनुसारको खर्च गर्न सरकारलाई हम्मे पर्नेछ। लक्ष्य अनुसार खर्च गर्न अब हरेक दिन रू.२ अर्ब ७७ करोड पूँजीगत बजेट खर्च गर्नुपर्नेछ। जुन यसअघिको नौ महीनाकाे तुलनामा करीब सात गुणा धेरै हो।
यद्यपि, यो वर्षको नौ महीनामा गत आर्थिक वर्षको यही अवधिकाे तुलनामा पूँजीगत बजेटको खर्च केही वृद्धि भएको देखिएको छ। गत आर्थिक वर्ष २०७६/७७ को चैत मसान्तसम्ममा वार्षिक पूँजीगत बजेटको करीब एकचौथाइ (२५.८८ प्रतिशत) मात्रै बजेट खर्च भएको थियो।
पूँजीगत खर्च कम हुनुले सरकारले विकास निर्माणको कामलाई अपेक्षा अनुसार द्रुत रूपमा अघि बढाउन नसकेको देखाउँछ। हरेक वर्ष बजेट भाषणका बेला सरकारले पूँजीगत बजेट कार्यान्वयनमा तीव्रता दिने बताउने गर्छ, तर वर्षान्तका महीनाहरूमा मात्रै अधिकांश रकम खर्च हुने क्रम रोकिएको छैन। वर्षका अन्तिम महीनाहरूमा हुने विकास निर्माणका कामको गुणस्तरमा प्रश्न उठ्ने गर्छ।
सरकारको कुल विनियोजित चालू शीर्षकको बजेटको पनि चैत मसान्तसम्ममा करीब आधा मात्रै खर्च भएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार, यो वर्षका लागि रू.९ खर्ब ५७ अर्ब चालू बजेट विनियोजन गरिएकोमा चैत मसान्तसम्ममा रू.४ खर्ब ९५ अर्ब मात्रै खर्च भएको छ। यो कुल विनियोजनको ५१.७८ प्रतिशत हो।
सरकारले यो वर्ष रू.११ खर्ब १२ अर्ब राजस्व उठाउने लक्ष्य राखेकोमा चैत मसान्तसम्ममा रू.५ खर्ब ९१ अर्ब (५३.११ प्रतिशत) संकलन गरेको छ।