जिल्ला प्रशासन पुग्यो इन्जिनियर्स एसोसिएसनको विवाद
नेपाल इन्जिनियर्स एसोसिएसनको ३३औं कार्यकारिणी समिति चयन सम्बन्धी विवाद जिल्ला प्रशासन कार्यालय (जिप्रका), काठमाडौंमा पुगेको छ। आगामी वैशाख २४ गते हुने निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका पाँच जनाले निर्वाचन समितिको निर्णयविरुद्ध सोमबार जिप्रका, काठमाडौंमा उजुरी दिएका हुन्।
निर्वाचन समितिले अन्यायपूर्वक आफूहरूको नाम उम्मेदवारको अन्तिम सूचीबाट हटाएको उजुरीमा उल्लेख छ। समितिले पूर्वाग्रह राखेर जित्ने उम्मेदवारको दर्ता खारेज गरिदिएको उजुरीकर्ताहरूको भनाइ छ।
उजुरी दिनेहरूमा उपाध्यक्ष पदका उम्मेदवार देउकाजी गुरुङ, महासचिवका उम्मेदवार विरोध रिजाल, उपमहासचिव पदका उम्मेदवार हिरामान वाइबा, सदस्य पदका उम्मेदवारद्वय लक्ष्मीनारायण चौधरी र लोकनाथ रेग्मी (बागमती प्रदेश) छन्।
निर्वाचन समितिका संयोजक घनश्याम भट्टराई भने एक जना व्यक्ति एक जनाको मात्रै प्रस्तावक वा समर्थक बन्न पाइने कार्यविधि अनुसार आफूहरूले निर्णय गरेको बताउँछन्। उनी भन्छन्, “कार्यविधि अनुसार गर्दा उहाँहरू उजुरी गर्नु जानुभयो, त्यसो नगरेको भए अर्को समूह जाने थियाे।”
महासचिवका उम्मेदवार विरोध रिजाल आफूहरूले निर्वाचन समितिले तोकिदिएको मौकाभित्र समर्थक र प्रस्तावकको नाम सच्याएर पेश गरिसकेको अवस्थामा निर्वाचन समितिले आफैंले गरेको निर्णय विपरीत उम्मेदवार बन्न पाउने हकबाट वञ्चित गरिएको बताउँछन्।
निर्वाचन समितिले एक पक्षलाई साथ र अर्को पक्षलाई घात हुने काम गरेको रिजालको भनाइ छ। “इन्जिनियरहरूको संस्थामा यस्तो हुनु दुर्भाग्य हो,” महासचिवका उम्मेदवार रिजाल भन्छन्, “जिल्ला प्रशासन कार्यालयबाट न्याय पाउँछौं भन्नेमा विश्वस्त छौं।”