वैदेशिक व्यापारमा हरेक महीना रू.१ खर्ब ८ अर्ब घाटा, रेमिटेन्सको आय रू.८० अर्ब
चालू आर्थिक वर्षको फागुनसम्ममा रू.६ खर्ब ४२ अर्ब रेमिटेन्स भित्रिएको छ। यो अघिल्लो वर्षको यही अवधिका तुलनामा ८.६ प्रतिशत धेरै हो। विदेश जाने नेपालीको संख्या घटिरहे पनि रेमिटेन्सको वृद्धिदर भने कायम रहेकोे तथ्यांकले देखाएको छ।
नेपाल राष्ट्र ब्यांकले सोमबार सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदन अनुसार अमेरिकी डलरमा रेमिटेन्स पाँच प्रतिशतले बढेको छ। योसँगै देशको वैदेशिक मुद्राको सञ्चिति १२ अर्ब ३७ करोड अमेरिकी डलर पुगेको छ। यो सञ्चितिले ११.३ महीनाको वस्तु र सेवा आयात धान्न सक्छ।
कोरोनाभाइरसको लहर शुरू हुनुअघिदेखि नै घट्न थालेको वैदेशिक रोजगारी अहिले तीनचौथाइले ओरालो लागेको देखिएको छ। फागुनसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ७४.८ प्रतिशतले घटेको राष्ट्र ब्यांकको तथ्यांकमा उल्लेख छ।
यो वर्षको साउनदेखि फागुनसम्ममा ४८ हजार ९४९ नयाँ नेपाली मात्रै वैदेशिक रोजगारीमा गएका छन्। कोभिड–१९ का कारण संसारभरिका श्रम गन्तव्य मुलुकहरूले कामदार माग घटाउँदा नेपाली कामदारको वैदेशिक रोजगारीको बाटो छेकिएको हो।
राष्ट्र ब्यांकका अनुसार, देशको भित्रिने र बाहिरिने रकमबीचको अन्तर जनाउने शोधनान्तर खाता फागुनसम्ममा रू.६८ अर्बले बचतमा छ। अघिल्लो वर्षको यही अवधिमा शोधनान्तर स्थिति रू.३७ अर्ब ७४ करोड बचतमा थियो। आयात उल्लेख्य रूपमा नबढेको तथा वैदेशिक यात्रा र शिक्षादीक्षामा नेपालीले गर्ने खर्च रकम घटेका कारण शोधनान्तर स्थिति सुविधाजनक रहेको हो। यद्यपि, चालू खाता रकम भने १ खर्ब ४८ अर्बले घाटामा छ।
राष्ट्र ब्यांकका अनुसार, देशको वैदेशिक व्यापारको हालत राम्रो छैन। चालू आर्थिक वर्षको फागुनसम्ममा नेपालले रू.८० अर्ब ७८ करोडको वस्तु निर्यात गरेको छ भने रू.९ खर्ब ४४ अर्बको वस्तु आयात गरेको छ। आठ महीनामा देशको वैदेशिक व्यापार घाटा रू.८ खर्ब ६३ अर्ब पुगेको छ। यो अवधिमा निर्यात ७.८ प्रतिशत र आयात २.१ प्रतिशतले बढेका छन्। चामल, कच्चा सोयाबिन तेल, फलाम, यातायातका साधन र पार्टपुर्जा, दूरसञ्चारका उपकरण तथा पार्टपुर्जाको आयात बढेको छ।
बजार मूल्यको वृद्धिदर भने सन्तोषजनक नै छ। फागुनसम्ममा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.०२ प्रतिशतमा सीमित छ, जुन अघिल्लो वर्षको यही अवधिमा ६.७ प्रतिशत थियो। यो अवधिमा सबैभन्दा धेरै घ्यूतेलको मूल्य करीब २० प्रतिशत र फलफूलको मूल्य करीब १४ प्रतिशतले बढेकाे छ।