सरोकारवालाको सुझाव- संक्रमणको जोखिम नभएका स्थानमा विद्यालय बन्द नगरौं
कोरोनाभाइरस (कोभिड-१९) बाट जोगिन विद्यालयहरू बन्द गर्ने चर्चा चलिरहेका बेला सरोकारवालाले भने गत वर्षजस्तो देशव्यापी रूपमा शैक्षिक संस्था बन्द नगर्न सुझाव दिएका छन्।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सोमबार बिहान आयोजना गरेको छलफलमा सहभागी सरोकारवालाहरूले धेरै संक्रमित भएका ठाउँमा मात्रै विद्यालय बन्द गर्न सुझाव दिएका हुन। विद्यालय सञ्चालक, शिक्षक, अभिभावक, स्थानीय तह, राष्ट्रिय परिक्षा बोर्ड लगायतका प्रतिनिधिले सकेसम्म उच्च सतर्कता अपनाएर विद्यालय सञ्चालन गर्नुपर्ने र बन्दै नगरी नहुने अवस्थामा सम्बन्धित स्थानीय तहहरूलाई निर्णय गर्ने अधिकार दिनुपर्ने सुझाव दिएका छन्।
शिक्षक महासंघका अध्यक्ष बाबुराम थापाले दूरशिक्षाको अनुभव हेर्दा अहिले कुनै पनि हालतमा विद्यालय बन्द गर्न नहुने बताए। आवश्यक सम्पूर्ण सतर्कता अपनाएर भौतिक रूपमै कक्षा सञ्चालन गर्नुपर्ने उनकाे भनाइ छ।
बैठकमा सहभागी नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले अनुगमन गरेर स्वास्थ्य मापदण्ड पूरा नगर्ने विद्यालयलाई कारबाही गर्नुपर्ने, तर विद्यार्थीको पढाइ रोक्न नहुने बताए। सम्बन्धित स्थानीय तह, शिक्षा समन्वय एकाइ लगायत सबैले आ-आफ्नो जिम्मेवारी पूरा गर्दा कोरोनाबाट जोगिँदै पढाइलाई निरन्तरता दिनुपर्ने बताए।
“विद्यार्थीलाई स्वस्थ र सुरक्षित पनि राख्नुपर्ने छ, तर पढाइ पनि बिग्रन दिन भएन,” अध्यक्ष भण्डारीले बैठकमा भने, “महामारीका बेला स्वास्थ्य र शिक्षालाई सन्तुलित रूपमा अगाडि बढाउने जिम्मेवारी तपाईं-हाम्रो काँधमा आएको छ।”
‘केन्द्र सरकारलाई विद्यालय बन्द गर्ने अधिकार छैन’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कोभिड-१९ संकट व्यवस्थापन केन्द्रले भौतिक कक्षा सञ्चालन रोक्न सिफारिश गरेको चर्चा चलिरहेका बेला सरोकारवालाहरूले भने केन्द्रीय सरकारलाई देशभरिका विद्यालय ठप्प पार्ने अधिकार नभएको बताएका छन्। शिक्षामन्त्री अनुपस्थित भएपछि बैठकको नेतृत्व शिक्षासचिव रामप्रसाद थपलियाले गरेका थिए।
नेपाल नगरपालिका महासंघका अध्यक्ष अशोक व्याञ्जुले कक्षा १२ सम्मको विषयमा निर्णय लिने अधिकार संविधानले स्थानीय सरकारहरूलाई दिएको बताए। उनले बैठकमा भने, “बालबालिकाको स्वास्थ्य जोखिममा पारौं भन्ने होइन, तर विद्यालय तहको विषयमा निर्णय गर्ने अधिकार स्थानीय सरकारहरूको हो।”
अत्यधिक जोखिम भएका र संक्रमितको संख्या बढ्दै गएको स्थानमा भने केही दिन भौतिक कक्षा रोकेर अनलाइन कक्षा सञ्चालन गर्न सकिने अध्यक्ष व्याञ्जुकाे भनाइ छ।
अभिभावक महासंघका अध्यक्ष भण्डारीले एक ठाउँमा संक्रमण देखियो भन्दैमा देशभरिका विद्यार्थीको पढाइ प्रभावित पार्न नहुने बताए। “वायु प्रदूषणका बेलामा देशव्यापी रूपमा विद्यालय बन्द भए,” भण्डारी भन्छन्, “काठमाडौंमा वायु प्रदूषित छ भन्दैमा मनाङ, मुस्ताङमा स्वच्छ हावा खाएर पढिरहेका विद्यार्थीको शिक्षामाथि खेलबाड गर्नु भएन, कोरोनाको विषयमा त्यस्तो नहोस् ।”