ट्र्याक्टर दुर्घटनामा ५ मजदूरको मृत्यु, १९ घाइते, ७ गम्भीर
चितवनको राप्ती नगरपालिका–११ आमपानीस्थित चिउँडेखोलामा ट्र्याक्टर दुर्घटना हुँदा ५ जना मजदूरको मृत्यु भएको छ। दुर्घटनामा १९ जना घाइते भएका छन् भने ७ जनाको अवस्था गम्भीर छ।
थाकलटारबाट चिउँडेखोलातर्फ आउँदै गरेको ना १ त ६२८२ नम्बरको ट्र्याक्टर अनियन्त्रित भई आइतबार साँझ आमपानीस्थित चिउँडेखोलामा दुर्घटना भएको थियो।
दुर्घटनामा राप्ती नगरपालिका–५ का ३५ वर्षीय खडक लामा, खैरहनी नगरपालिका–९ का ४० वर्षीय मगन महतो, ५० वर्षीया छनिया महतो र राप्ती नगरपालिका–४ का ४५ वर्षीय सीताराम श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
दुर्घटनामा मृत्यु भएका अन्दाजी २५ वर्षीय युवकको सनाखत हुन सकेको छैन।
दुर्घटनामा १९ जना घाइते भएका छन्। उनीहरूमध्ये ७ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सूर्यबहादुर थापाले बताए। घाइते सबैको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ।