सात घण्टापछि नियन्त्रणमा आयो शिवपुरी नागार्जुन निकुञ्जको डढेलो
शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको तारेभीर र नागी गुम्बा क्षेत्रमा आइतबार बिहानदेखि लागेको डढेलो नियन्त्रणमा आएको छ।
डढेलो निभाउन निकुञ्ज कार्यालयका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय जनता खटिएका थिए। यसका साथै नेपाली सेना र बूढानीलकण्ठ नगरपालिकाको दमकलका साथै सिम्रिक एअरको हेलिकप्टर परिचालन गरी पानी हालिएको थियो।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत लक्ष्मण पौडेलका अनुसार, आइतबार बिहान साढे ९ बजेतिर शिवपुरी नागार्जुन निकुञ्जमा डढेलो लागेको थियो। करीब ७ हेक्टर क्षेत्रफलमा लागेको डढेलो साढे ४ बजे मात्र नियन्त्रणमा आएको उनले जानकारी दिए।
नेपालमा वनमा लागेको डढेलो नियन्त्रणका लागि हेलिकप्टरको प्रयोग प्रभावकारी देखिएको पनि पौडेलले बताए।