भारतमा सक्रिय संक्रमित १० लाख, एकै दिन थपिए १ लाख ४५ हजार
भारतमा कोरोनाभाइरसका सक्रिय संक्रमित १० लाख नाघेका छन्। पछिल्लो २४ घन्टामा १ लाख ४५ हजार थपिएसँगै सक्रिय संक्रमितको संख्या १० लाख नाघेको हो।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या १० लाख ४५ हजार ६३१ पुगेको छ। दैनिक संक्रमित बढ्दै गएका छन्। चार दिनयता दैनिक थपिनेको संख्या १ लाखभन्दा बढी छ।
पछिल्लो २४ घन्टामा १ लाख ४५ हजार ३८४ संक्रमित थपिएका छन्। यो अहिलेसम्मकै सबैभन्दा बढी हो। योसँगै कुल संक्रमितको संख्या १ करोड ३२ लाख ५ हजार ९२६ पुगेको छ।
त्यस्तै, पछिल्लो २४ घन्टामा कोरोनाबाट ७९४ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या १ लाख ६८ हजार ४६७ पुगेको छ।
सबैभन्दा बढी महाराष्ट्र र छत्तिसगढमा संक्रमण देखिएको छ। महाराष्ट्रमा ५८ हजार ९९३ र छत्तिसगढमा ११ हजार ४४७ संक्रमित थएिका छन्।
नेपालसँग सीमा जोडिएका उत्तरप्रदेश, उत्तराखण्ड, बिहार र पश्चिम बंगालमा पनि संक्रमित थपिँदै गएका छन्। सबैभन्दा बढी उत्तरप्रदेशमा संक्रमण देखिएको छ।
कोरोनाको दोस्रो लहर चलिरहेका बेला भारतमा कोरोनाविरुद्धको खोप अभाव भएको छ। खोप सकिएपछि महाराष्ट्रमा खोप सेन्टर बन्द गरिएका छन्।
भारतमा अहिले दैनिक ३०–४० लाख खोप लगाइँदै आएको छ। स्वास्थ्यमन्त्री हर्षवर्द्धनले १३ करोड ५० लाख खोप रहेको जनाएका छन्। उनका अनुसार, अझै ४ करोड खोप पाइपलाइनमा रहेका छन्।
तर, भारतका विभिन्न राज्यमा खोप अभाव भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।